चेतनारायणको शक्तिमा बसेका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढकालविरुद्ध अख्तियारमा उजुरीहरू

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन् ।

भवन निर्माणदेखि खरिदमा अनियमितताको विषयमा डा.ढकालविरुद्ध करिब एक दर्जन उजुरी परेका हुन् । उनी १०औँ तहका चिकित्सक हुन् । ११औँ तहकालाई पन्छाएर डा.ढकाललाई मेसु दिइएकोमा अस्पतालभित्रै विरोध भइरहेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको आडमा डा.ढकालले अस्पतालमा बेथिती बढाएको आरोप लागेको छ । उनको दरबन्दी गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा छ ।

अस्प्तालले चिकित्सकको अभाव रहेको भन्दै डा.ढकाललाई फिर्ता गर्न बारम्बार पत्र समेत लेख्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत डा.ढकाललाई ताकेता गर्दै आएको छ । राजनीतिक आडमा डा.ढकाल लुम्बिनीमा बस्दै आएका छन् ।

हालै उनले मेडिकल सप्लायर्स उमेश अग्रवालसँग मिलेर करिब पाँच करोडको सामान सेटिङमा खरिद गरेको विषयमा हाल अख्तियारले छानविन गरिरहेको छ । उनीविरुद्धका यसअघिका उजुरी पनि छानविनमै छ ।

सो अस्पतालको नयाँ भवन निर्माणमा पनि करिब एक अर्बको चलखेल भएको थियो । ६ अर्बमा बनाउन लागिएको भवनको टेण्डरमा सबै दललाई भागबण्डा गरिएको आरोप छ । भागबण्डा डा. ढकाल पनि मुछिएका छन् ।

Published : Wednesday, 2025 November 12, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया