राजनीतिक दल र नेताहरू समयमा नसुध्रिए जनताको पुनः विद्रोह हुन्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुनः विद्रोह गर्ने बताएका छन् ।

मंगलबार सिन्धुलीगढीमा आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री बानियाँले दल र नेताहरू सही ढंगले नचलेकै कारण मुलुकले छोटो समयमा जेनजी पुस्ताको आन्दोलन बेहोर्नुपरेको बताए ।

‘जेन–जी पुस्ताको आन्दोलन पारदर्शिता, सुशासनको पक्षको आवाज हो । सूचनाको हक खोसिएपछिको असन्तोष हो,’ उनले भने, ‘यदि हामी समयमा सुधारिएनौं भने जनता पुनः विद्रोह गर्न बाध्य हुनेछन् ।’

जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म भएको भन्दै मुख्यमन्त्री बानियाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको बताएका छन् ।

नेपाली कांग्रेस बागमतीका सभापति समेत रहेका बानियाँले भने, ‘राजनीतिमा नाफा–नोक्सान हुँदैन, न्याय वा अन्याय मात्र हुन्छ । जसले अन्याय गर्छ, उसले सजाय भोग्नैपर्छ । न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर म राजनीतिमा आएको हुँ, त्यसैले मेरा लागि जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म हो ।’

मुख्यमन्त्री बानियाँले राजनीतिज्ञहरूले पदीय जिम्मेवारी निर्वाह नगर्दा जनतामा असन्तोष बढेको बताएका छन् । उनले लामो संघर्ष र ठूलो बलिदानबाट प्राप्त गणतन्त्रलाई जनताको अधिकार र सहभागितामाथि आधारित व्यवस्थाको रूपमा बलियो बनाउनु पर्ने बताएका छन् ।

मुख्यमन्त्री बानियाँले निजामती कर्मचारी र सुरक्षानिकाय दुवैलाई आफ्नो कार्यान्वयन जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरेका छन् ।

Published : Tuesday, 2025 November 11, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया