विशेष महाधिवेशनको नाममा समय खेर फाल्ने होइन : कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले मुलुक राष्ट्रिय संकटमा रहेका बेला कांग्रेस अलमलिएको भन्दै चिन्ता जनाएका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै नेता विश्वकर्माले भने, ‘हाल नेपाली कांग्रेसमा काम कुरा एकातिर कुम्लो बोकी अकैतिर भन्ने उखान चरितार्थ भएको छ । मुलुक संकटमा छ ।’

‘मुलुकको जेठो, पहिलो र जनताले भरोसा गरेको दल नेपाली कांग्रेस भने अहिले मात्रै होइन विगत लामो समयदेखि आन्तरिक खिचतानीको कारण खास खास समयमा अलमलिने गरेको छ,’ उनले भने ।

‘२०७९ को निर्वाचनमा नेपाली राजनीतिमा युवा र स्वतन्त्रको नाममा नयाँ लहर आउँनु र हाम्रो जनमत घट्नुमा हाम्रो अलमल र अनिर्णय हो भन्ने मेरो ठहर छ,’ उनले भने ।

केन्द्रीय सदस्य विश्वकर्माले विशेष महाधिवेशनको नाममा समय खेरा फाल्न नहुने बताएका छन् । उनले भने, ‘निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफालौं अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्वका कार्य हुन ।’

‘केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था वन्छ भने ठीकै होला,’ उनले भने, ‘होइन भने पार्टी सहज अवस्थामा रहँदैन ।’

‘नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहाना र रुपान्तरण ल्याउँनेछ भने आम निर्वाचनले आम नेपाली जनतामा आशा भर्नेछ र सिङ्गो मुलूकलाई सहि दिशामा लान मद्धत गर्नेछ,’ नेता विश्वकर्माले भने ।

‘कुन पहिले भन्ने सवाल हाम्रा सामू तेर्सिएको छ । मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ । यसका लागि छलफल र वहसमा अल्झिएर समय वर्वाद नगरौं महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौं,’ उनले भने ।

‘यसको मतलव निर्वाचनभन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं । सोही अनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गरौं । क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण प्रभावकारी बनाउँने कार्य तिव्र गतिमा अघि बढाऔं,’ उनले भने ।

‘यसले निर्वाचनको माहौल पनि सँगसँगै बनाउँदै लान्छ । वडा र पालिका तहसम्मको अधिवेशनले आम चुनावमा नोक्सान पुर्‍याउँदैन । जब निर्वाचनको चाप बढ्छ, पार्टीको सम्पूर्ण शक्ति आम निर्वाचनमा लगाउँनु पर्ने हुन्छ तब अधिवेशनका बाँकी कार्यक्रम स्थगन गरि सम्पूर्ण शक्ति निर्वाचनमा लगाउँला,’ उनले भने ।

‘नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरौं र तत्काल कार्यतालिका सार्वजनिक गरौं अधिवेशनलाई अनिवार्य चाहिने देहाय वमोजिमका समितिहरू यही बैठकले गठन गरौं,’ नेता विश्वकर्माले भने ।

Published : Tuesday, 2025 November 11, 3:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया