एमालेको कार्यकर्ता बनेर पदीय हैसियत भुलेपछि सुमित्राको प्रमुख पद गुम्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेलले भण्डारीलाई सरकारको सिफारिसमा पदमुक्त गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२÷०७÷२४ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२÷०७÷२५ गतेदेखि पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेशको प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिको विषयमा भण्डारी विवादमा तानिएकी थिइन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति देखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादमा परेकी थिइन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् ।

आफ्नो पदीय जिम्मेवारी र हैसियतलाई भुलेर भण्डारी एमालेको कार्यकर्ता जस्तो बनेपछि आलोचना भएको थियो ।

Published : Tuesday, 2025 November 11, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया