एआईजीपी कार्कीलाई आईजीपीमा नियुक्त गर्ने सरकारका निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आईजीपी नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बताए । कार्की काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

कार्की लुम्बिनी प्रदेशको गुल्मी जिल्ला निवासी हुन् । कार्की आईजीपी बनेपछि गृहजिल्ला गुल्मीमा सबैभन्दा धेरै खुसियाली छाएको छ ।

Published : Monday, 2025 November 10, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया