जीवनाथ खतिवडाको निधनप्रति कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर जीवनाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
जीवनाथ खतिवडा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं राज्य व्यवस्था समितिका पूर्व सभापति रामहरि खतिवडाका पिता हुन् । उनको आइतबार कार्तिक १६ गते राति काठमाडौंस्थित निवासमा निधन भएको थियो ।

‘स्व.जीवनाथ खतिवडाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ कांग्रेसले भनेको छ, ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।’

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जीवनाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

खड्काले स्व.खतिवडाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

जीवनाथ खतिवडाको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुभन्दा अगाडि कांग्रेसको झण्डा ओढाएर कार्यबाहक सभापति खड्काले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

ओखलढुङ्गाको मानेभञ्ज्या गाउँपालिका स्थायी घर भएका जीवनाथ खतिवडा छोरा रामहरि खतिवडासँग डिल्लीबजारस्थित निवासमा बस्दै आएका थिए ।

Published : Monday, 2025 November 3, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया