राप्ती नदी दोहन गर्ने गढवाका अधिकृत र बज्रगुरू कन्स्ट्रक्सनविरुद्ध ९६ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, बज्रगुरू कन्स्ट्रक्सन लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ । नदीजन्य पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा योगीका साथै बज्रगुरू कन्स्ट्रक्सन कम्पनी प्रा.लि. र सो कम्पनीका एमडी लक्ष्मणकुमार रानाविरुद्ध मुद्दा दायर गरिएको छ ।
गढवा गाउँपालिका– १ स्थित पत्रिङ्गाघाट र जेठानगाउँको उत्तर बीचमा राप्ती नदीको किनारमा घाट गद्दी गरिराखेको नदीजन्य पदार्थ (ढुंङ्गा, गिट्टी, बालुवा) कालाकाटे–गढवा सडक खण्ड निर्माणका लागि राखेकोमा उक्त नदीजन्य पदार्थ अन्य क्रसर उद्योगलाई बिक्री वितरण गरिरहेको फेला पारी स्काभेटर, टिप्परहरू र बिल भरपाई बरामद गरी प्रहरी चौकीमा बुझाएकाले कारबाही गरी पाउँ भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा सम्झौताभन्दा बढी परिमाण उत्खनन भएको पाइएको र त्यसअनुसारको राजस्व असुल नगरी उल्टै ९५ लाख ९८ हजार रुपियाँको बैंक ग्यारेन्टी फुकुवा गरिएको पाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानमा योगी र रानाले आपसी मिलेमतो गरी गाउँपालिकाको राजस्व हिनामिना गर्ने उद्देश्यले अवैध रूपमा बैंक ग्यारेन्टी फुकुवा गरेको प्रमाण भेटिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले उनीहरूविरुद्ध ९५ लाख ९८ हजार रुपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।
गढवा गाउँपालिका भ्रष्टाचार लगायत विभिन्न काण्डहरूमा मुछिदै आएको छ । राप्ती नदीमा गढवा गाउँपालिकाले मिलोमतोमा लामो समयदेखि दोहन गर्दै आएको छ ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८२।०७।१६ गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
जिल्ला दाङ, गढवा गाउँपालिका वडा नं. १ स्थित पत्रिङ्गाघाट र जेठानगाउँको उत्तर बीचमा राप्ती नदीको किनारमा घाटगद्दी गरिराखेको नदीजन्य पदार्थ (ढुंङ्गा, गिट्टी, बालुवा) कालाकाटे गढवा सडक खण्ड निर्माणका लागि राखेकोमा उक्त नदीजन्य पदार्थ अन्य क्रसर उद्योगलाई बिक्री वितरण गरिरहेको फेला पारी स्काभेटर, टिप्परहरु र बिल भरपाई बरामद गरी प्रहरी चौकीमा बुझाएकाले कारबाही गरी पाउँ भन्ने व्यहोराको आयोगमा प्राप्त उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला दाङ, गढवा गाउँपालिका कार्यालयले आ.व. २076/०77 मा वडा नं. १ को पत्रिङ्गा घाटदेखि जेठानगाउँ घाटसम्मको क्षेत्रबाट (खण्डबाट) जेठ मसान्तसम्म जम्मा परिमाण ७२,२८५ घ.मि. बराबरको नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडा) उठाउन बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रा.लि. र गढवा गाउँपालिकाको कार्यालय बीच मिति २०७६।१०।१२ गते ठेक्का सम्झौता भएकोमा मिति २०७७।०४।१३ गते जिल्ला समन्वय समिति दाङको प्रतिनिधिको उपस्थितिमा गढवा गाउँपालिकाका अध्यक्ष समेतको टोलीले गरेको नापजाँचमा 1,10,638 घ.मि. नदीजन्य पदार्थको स्टक प्रमाणित गरेको देखिएको। स्टक नापजाँच गर्दा १,१०,६३८ घ.मि. भएको र उक्त परिमाणबमोजिम सम्झौताभन्दा बढी नदीजन्य पदार्थको राजस्व रकम गढवा गाउँपालिकाको विभाज्यकोषमा जम्मा गर्न पत्राचार गर्ने भनी मिति २०७७।०९।०३ गते गाउँ कार्यपालिकाबाट निर्णय भई सम्झौता अनुसार बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व विभाज्यकोषको खाता जम्मा गरी सोको सक्कल भौचर दाखिला गर्न प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.लाई पटक पटक पत्राचार गरी पुन: ताकेता पत्राचार समेत भएको देखिएको।
यसरी बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व विभाज्यकोषमा जम्मा गर्न प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी स्वयमले दस्तखत गरी बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.लाई तीन पटक पत्राचार भएको र सो रकम उक्त प्रा.लि.ले जम्मा गरी नसकेको अवस्थामा बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.ले उक्त ठेक्का सम्झौताको लागि गढवा गाउँपालिकाको नाममा राखिएको उक्त ठेक्का नं. ०७/०७६/०७७ कै लागि राखिएको बैक ग्यारेन्टी जमानत रकम रु.९५,९८,०००।– (पन्चानब्बे लाख अन्ठानब्बे हजार रुपैयाँ) बैकले फुकुवा नगरी गढवा गाउँपालिकाको नाममा यथावत् नै रहिरहेको अवस्थामा उक्त बैक ग्यारेन्टीबाटै बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूलउपरको कारबाही अगाडि बढाई सम्झौता र शर्त विपरीतको काम गर्ने बज्रगुरु कन्ट्रक्सन प्रा.लि.उपर प्रचलित कानूनबमोजिमको थप कारवाही गर्ने प्रक्रिया समेत अबलम्बन गर्नुपर्नेमा सो नगरी उल्टै गाउँ कार्यपालिका र गाउँसभाबाट भएको निर्णयविपरित हुने गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (२) मा भएको प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार समेतलाई बेवास्ता गर्दै राजस्व रकम दाखिला सम्बन्धमा तीन पटकसम्म बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि. लाई आफैले दस्तखत गरी लेखेको पत्रहरुको विपरीत हुने गरी सम्बन्धित शाखाबाट तहगत रुपमा कुनै राय तथा टिप्पणीसमेत नउठाई बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि.सँग मिलेमतो गरी सरकारी हिनामिना हानिनोक्सानी पुर्याउने बदनियतले ठेक्कासम्बन्धी सम्पूर्ण कार्य भएकाले जमानत रकम फुकुवा गरिदिनु भनी प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी आफैले दस्तखत गरी गढवा गाउँपालिका कार्यालयको पत्रबाट नेपाल बंगलादेश बैक, काठमाण्डौमा पत्राचार गरी सोही पत्रको आधारमा मिति २०७८।०९।१२ गते उक्त बैक ग्यारेन्टी फुकुवा गरिसकेपछि उक्त ठेक्काकै लागि राखिएको बैक ग्यारेन्टी आफूले पत्राचार गरी फुकुवा गरेको विषयमा गाउँ कार्यपालिकामा कुनै जानकारी नगराई उल्टै गाउँ कार्यपालिकालाई समेत झुक्याएर अभिलेख समेत नराखेको पाइएकोले ठेक्का नं. ०७/०७६/०७७ को लागि राखिएको बैक ग्यारेन्टी जमानत रकम रु.९५,९८,०००।– (पन्चानब्बे लाख अन्ठानब्बे हजार रुपैयाँ) बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रा.लि. का एम.डि. लक्ष्मण कुमार राना र प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले एकआपसमा मिलेमतो गरी बैकबाट फुकुवा गरी/गराई नियमानुसार बढी उत्खनन् गरेको परिमाण बराबरको रकम गाउँपालिकाका लागि भुक्तानी नगरी नगराई गाउँपालिकाको राजस्व रकम हिनामिना हानिनोक्सानी गर्ने गराउने कार्य गरेको देखिँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतका देहायका कसूरमा देहाय बमोजिमको सजाय हुन मागदावी लिर्इ आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय
| सि.नं. | नामथर, पद र कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
| जिल्ला दाङ, गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी | रु.९५,९८,०००।– | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरजन्य कार्य भएको पुष्टि हुन आएकाले बिगो पन्चानब्बे लाख अन्ठानब्बे हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र सोही दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असूल उपर हुन, सम्पूर्ण कार्य भएको भनी आफैले गरेको पत्राचारकै विपरीत गढवा गाउँपालिकालाई हानिनोक्सानी हुने गरी गलत बेहोरा खुलाई पत्राचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा ९ बमोजिम सजाय समेत हुन मागदाबी लिइएको छ। | |
| बज्र गुरु कन्सट्रक्सन कम्पनी प्रा.लि. कुपण्डोल, ललितपुर र उक्त प्रा.लि.का प्रबन्ध निर्देशक (एम.डी.) लक्ष्मण कुमार राना | रु.९५,९८,०००।– | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा उक्त दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र सोही दफा ३ को उपदफा (१) बमोजिम सजाय हुने कसूरजन्य कार्य गर्ने मूल कसूरदारको मतियार भर्इ निज प्रतिवादी लाल बहादुर योगीलार्इ उल्लिखित कसूर गर्न सहयोग गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसूर भएको हुँदा सोही ऐनको दफा २२ बमोजिमको प्रतिबन्धात्मक वाक्यांश बमोजिम मूल कसुरदारलाई हुने सजाय सरह सजाय हुन, मूल कसुरदार प्रतिवादी लाल बहादुर योगीले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरजन्य कार्यमा मतियारका रुपमा संलग्न भएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ प्रतिन्धात्मक वाक्यांश बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मूल कसुरदारलाई हुने सजाय सरह सजायं हुन मागदाबी लिइएको छ। |
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया