नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्न एआईजी कार्की र नगरप्रमुख अधिकारीबीच सम्झौता
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र नागार्जुन नगरपालिकाबीच नागार्जुन नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सीसीटीभी क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार रानीपोखरीस्थित प्रहरी कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दानबहादुर कार्की र नागार्जुन नगरपालिकाको तर्फबाट नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् ।
एआईजीपी कार्कीले नागरिकहरूको आधारभूत आवश्यकता शान्ति सुरक्षा भएकोले सीसीटीभी जडानले नागरिकहरूलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताए । उनले विभिन्न अपराधिक घटनाहरूको सफल अनुसन्धान गर्न प्रविधिको प्रयोग गरी प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताएका छन् ।
नागार्जुन नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीले सीसीटीभी जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गरी अनुसन्धान गर्न सहज हुने बताइन् । उनले अन्य ठाँउहरूमा पनि आवश्यकता अनुसार सीसीटीभी जडान गरी आगामी दिनहरूमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताएकी छिन् ।
नागार्जुन नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सीसीटीभी जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो ।
यसका लागि चालु आर्थिक वर्ष २०८२÷०८३ मा २ करोड १२ लाख भुक्तानी हुने गरी नागार्जुन नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।
सीसीटीभी जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया