शेरबहादुरलाई मैले कहिल्यै भोट हालिन्, उहाँमाथि आक्रमण हुँदा एकजुट भएर सामना गर्नुपर्छ, कुर्सी आजैले भन्ने होइन : नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवासँग आफ्नो धेरै विपतीहरू रहे पनि सांघातिक आक्रमण हुँदा पार्टी एकजुट भएर त्यसको विरोध गर्नुपर्ने बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेता थकालीले सभापति शेरबहादुर देउवा र उनी धर्मपत्नी डा.आरजु राणामाथि भएको सांघातिक आक्रमणको विरोध गरे । उनले भने, ‘शेरबहादुर देउवालाई संसदीय दलको चुनाव र सभापतिको चुनावमा भोट नहाल्ने म पनि एउटा हुँ । शेरबहादुर देउवालाई । सबैलाई थाहा छ । मैले त उहाँहरूकै अगाडि भने । तर, मेरो सभापति हो ।’

‘कांग्रेस मेरा लागि मन्दिर थियो, कांग्रेसको आदर्श, उहाँ (शेरबहादुर देउवा) गजुर थियो, उहाँमाथि यत्रो आक्रमण हुँदाखेरी कार्यकर्ताहरू एकजुट भएर त्यो विध्वंशको विरुद्धमा जाने की आजै ले, भोलि ले, पर्सी ले, निकुर्सी ले, कुर्सी बुझा…, यस्ता कांग्रेस कांग्रेस हुन्छ ?’ नेता थकालीले प्रश्न गरेका छन् ।

उनले प्रश्न गर्दै भने, ‘कहाँ गयो त्यो तरुण दल ? कहाँ गयो त्यो नेविसंघ ? सुरक्षाकर्मीले सुरक्षा दिन नसकेर बहिस्कृत गरेर जाँदा हाम्रो सभापतिको सुरक्षा हामी दिन्छौँ भनेर ५ सय जना युवाहरू कांग्रेसका तरुण दल र नेविसंघकाहरू आएर सुरक्षा दिन प्रयास गरेको भए सिंहरबार जल्ने थिएन । हुतिहारा ।’

‘हिजो एउटा कार्यक्रममा ठूलोठूलो स्वरमा बोलेको देखे । हाम्रो सभापति शेरबहादुर देउवालाई आक्रमण गर्नेलाई एकएक कारबाही गर्छौ भने । गर्ने बेला बचाउने बेलामा आफू मरिन्छ की भनेर लुक्ने,’ पूर्वमन्त्री समेत रहेका नेता थकालीले भनेका छन् ।

‘पदको लागि मरिहत्य गर्नेले न त पार्टी बचाउँछ, न त देश बचाउँछ । भएको अहिले त्यही हो,’ उनले भनेका छन् ।

‘कहिले काँही हामी बाहिर सबेर पनि लोकतन्त्रलाई मद्दत गर्न सक्छौँ । विशेष अधिवेशन भन्नुस् वा नियमित अधिवेशन भन्नुस् । एउटा अधिवेशनमा हामी जानै पर्छ । विशेष अधिवेशन पनि विधानले दिएको छुट हो,’ उनले भने ।

‘अहिले यसो हेर्दा, हतारिएको देख्दा फागुन २१ मा चुनाव भइहाल्यो भने टिकट समूहले बाँड्ने भन्ने तयारी हो की भन्ने मलाई लाग्छ,’ नेता थकालीले भने ।

नेता थकालीले केही समय अगाडि सभापति शेरबहादुर देउवासँग आफूले भेट गरेर स्वास्थ्य अवस्था र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको बताएका छन् । उनले भने, ‘शेरबहादुरजीलाई जब मैले भेटे उहाँको आत्मबल बलियो थियो । हियो यो घटना नहुँदा म कम जान्थेँ । उहाँमा बुद्धबाट पाएको प्रेरणाले गर्दा कम बोल्नु हुन्छ । त्यो पनि एउटा शक्ति हो भनेर बुद्धले भन्नु हुन्थ्यो । म प्रष्ट बोल्छु त्यो मेरो कमजोरी पनि हो । सत्य कुरा बोलिदिँदा सबैलाई पच्दैन ।’

नेता थकालीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नवीकरणको फारमलाई निकै जटिल बनाएको बताएका छन् । फारम जटिल भएका कारण मस्ताङ जस्ता हिमाली र ग्रामीण भेगका क्रियाशील सदस्यहरूले सदस्यता नवीकरण गर्न कठिनाइ भइहेको बताए ।

उनले भने, ‘महामन्त्रीजीहरूले हामीलाई प्रेसित गरेको फारम सदस्यता नवीकरण गर्ने, सदस्यता नवीकरण गर्ने फारममा हुँदो नहुँदो विवरण खोज्नु भएको छ । कहिले प्रवेश गरेको ? कुन क्षेत्र हो ? त्यो डाटा त केन्द्रसँग छ नि ? पहिला नै पठाएको छ ? अहिले उहाँहरूले चाहे विशेष अधिवेशन गर्नुस्, चाहे नियमित गर्नुस्, नियमित बेटर तर, ढिलो होइन, चाँडो । उहाँहरूले फारम यति कम्प्लिकेटेड बनाइदिएको छ भर्नै जान्दैनन् । हाम्रो हिमालका मान्छेहरू ।’

‘क्रियाशील सदस्य भइसकेको मान्छेलाई दुनियाँ बिबरण किन चाहियो ? नवीकरण गर्ने की नगर्ने उसको अधिकारको कुरा हो । त्यसलाई सजिलो बनाउनुपर्छ की पर्दैन ? उ त अलरेडी क्रियाशील सदस्य छ नि ? मेरो मुस्ताङमा यही कारणले गाँठो अड्कीएको छ । मुक्तिनाथभन्दा माथि फोन छैन । फोन नम्बर नभएर इन्ट्री नगर्ने रे ?
क्रियाशील सदस्यताको कम्प्लिकेडेट, जुन शहरमुखी फारम छ त्यसलाई सहज बनाइयो भने म मिति ट्याक्क भन्न सक्दैन तर, माघको पहिलो हप्तासम्म महाधिवेशन गर्न सकिन्छ । अहिले कै अवस्थामा महाविधेशन मंसिरमा गर्न सकिदैन,’ नेता थकालीले भने ।

Published : Thursday, 2025 October 30, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया