निर्वाचनपछि महाधिवेशन गर्न कांग्रेस संस्थापनका नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूले १५औँ महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गर्न सुझाव दिएका छन् ।

बुधबार ललितपुरमा बसेको संस्थापन पक्षका नेताहरूको बैठकले प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा चुनावपछि महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएका हुन् । उनीहरूले वैशाख वा जेठमा महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

नेताहरूले कांग्रेसलाई निर्वाचनमा केन्द्रित बनाउनुपर्ने र निर्वाचनपछि महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन् । निर्वाचन अगाडि महाधिवेशन गर्दा कांग्रेसलाई क्षति हुने नेताहरूले बताएका छन् ।

नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा उपचारका क्रममा रहेको बेला महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलनको अगुवाइ गरेको भन्दै आपत्ति जनाएका छन् । सिटौलाले मुलुक संकटमा रहेको बेला कांग्रेसलाई राष्ट्रिय राजनीतिको विषयमा निर्णय गर्न महामन्त्रीद्वय थापा र शर्माले नदिएको भन्दै चिन्ता जनाएका छन् ।

नेता मोहनबहादुर बस्नेतले महामन्त्री थापाको क्रियाकलापप्रति प्रश्न उठाएका छन् । उनले थापाको सचिवालयसहित दैनिक खर्चको आर्थिक स्रोत के हो ? भन्दै प्रश्न उठाएको स्रोतले जनाएको छ । महामन्त्री थापाको निकै ठूलो सचिवालय र खर्च रहेको छ । त्यसको पारदर्शिता महामन्त्री थापाले देखाएका छैनन् । गफ र आदर्शका कुरा गर्दै आएका थापाको आर्थिक स्रोतका विषयमा बेलाबेला प्रश्न उठ्दै आएको छ ।

क्रियाशील सदस्यताको टुंगो लगाउने मूल जिम्मेवारी लिएका महामन्त्री थापाले आफ्नो कार्य नसक्ने तर, महाधिवेशनको रटान लगाएको आरोप नेताहरूले लगाएका छन् । थापाका कारण क्रियाशील सदस्यताको टुंगो नलागेको हुँदा नियमित महाधिवेशन चुनाव अगाडि हुनै नसक्ने नेताहरूले बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहीबारदेखि पुनः शुरु हुन लागेको छ । असोज २८ गतेदेखि शुरु भएको बैठक पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ऋषिकेश गौतमको निधन भएपछि स्थगित भएको थियो ।

Published : Wednesday, 2025 October 29, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया