विशेष महाधिवेशनको औचित्य छैन, नियमित महाधिवेशन गरौँ : कांग्रेस महानगरका सभापतिहरू
काठमाडौं । नेपाली कांग्रेस अन्तर महानगर समितिका सभापतिहरूले विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै नियमित महाधिवेशन गर्न माग गरेका छन् ।
बुधबार काठमाडौंमा बसेको ६ वटा महानगरका सभापतिहरूको बैठकले नियमित महाधिवेशनमा जोड दिएका हुन् । उनीहरूले केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनलाई ध्यानमा राखेर कार्यतालिका सार्वजनिक गर्न सुझाव दिएका छन् । कार्यतालिका बन्यो भने एक महिनामा सबै तहको महाधिवेशन गर्न सकिने र आफूहरूको सहयोग रहने उनीहरूले बताएका छन् । कार्यतालिका माग गरे पनि मंसिर अगाडि हो वा मंसिर पछाडिको कार्यतालिका माग भएको हो केही भनिएको छैन ।
काठमाडौं महानगर सभापति निलकाजी शाक्य, पोखरा महानगर समिति सुरेन्द्रमान विजुक्छे, ललितपुर महानगर सभापति शुभानन धाख्वा, विराटनगर महानगर सभापति दीपक चापागाईं, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, वीरगञ्ज महानगर समिति सभापति मनिन्द्र नेपालीद्वारा जारी संयुक्त वक्तव्यमा पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।
उनीहरूले भनेका छन्, ‘बदलिंदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीहरूको जनचाहाना अनुरूप देशभित्र व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानविन र दोषी उपर कार्वाहीको माग तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सो उपर तत्काल निर्णय गरोस भनी जोडदार माग गर्दछ ।’
‘आम जनमानस एवम् पार्टी कार्यकर्ताहरूमा नेतृत्वप्रति देखिएको वितृष्णा तथा विशेष महाधिवेशनको मागलाई समेत सम्बोधन गर्ने गरी तत्काल कार्यतालिका सहितको नियमित महाधिवेशन कार्ययोजना २०८२ कार्तिक १३ गतेदेखि संचालन हुने केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘पार्टीको नियमित महाधिवेशन समयमैं सम्पन्न गर्न सम्भव बनाउनको लागि देशका हामी ६ वटा महानगरपालिका कार्यसमितिले पालिकाहरूसँग समन्वय गरी नियमित महाधिवेशन गर्न सहयोग र समन्वय गर्न हामी तत्पर छौं,’ विज्ञप्तिमा भनिएको छ ।
महानगरका सभापतिहरूले महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका पनि प्रस्ताव गरेका छन् । उनीहरूले दुई हप्ताभित्र सम्पूर्ण क्रियाशील सदस्यता सम्बन्धि प्रक्रिया पूरा गर्न भनेका छन् ।
पहिलो ५ दिनभित्र वडादेखि क्षेत्रस्तरीय सम्मका अधिवेशनहरू सम्पन्न गर्ने, दोस्रो अर्को ५ दिनभित्र जिल्ला र प्रदेशस्तरीय अधिवेशन सम्पन्न गर्ने, तेस्रो ५ दिनभित्र केन्द्रीयस्तरको अधिवेशन सम्पन्न गर्न सम्भव रहेको महानगरका सभापतिहरूले जनाएका छन् । उनीहरूले विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया