तरुण नेताको गगनलाई चेतावनी– धेरै बोल्ने र गफ लगाउने होइन, कांग्रेसमा काम गर्नुस्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बोल्न र गफ लगाउन माहिर मानिन्छन् । आफै कांग्रेसको नेतृत्वमा छन् । पहिलो नम्बरको महामन्त्री हुन् । उनले ठोस कमद उठाएर कांग्रेसलाई बचाउने भन्दा पनि गफ धेरै दिएर कार्यकर्ताहरूलाई रनभुल्लमा पारेका छन् ।
थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्नै दिएका छैनन् । विशेष महाधिवेशनको कुरा उठाएर हस्ताक्षर गराइ देशमा उथल पुथल हुँदा समेत कांग्रेसले उचित निर्णय लिन सकेको छैन । महामन्त्री थापाले कांग्रेसलाई सक्रिय रुपमा चलायमान हुन दिइरहेका छैनन् ।
यसैबीच, बुधबार नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले महामन्त्री थापालाई गफ नगरेर कांग्रेसमा ठोस कार्य गर्न सुझाव दिएका छन् । महामन्त्री थापालाई प्रश्न गर्दै पाण्डेले लेखेका छन्, ‘गफले होइन, अब ठोस कदमले पार्टी जोगाउनु पर्छ ।’
तरुण केन्द्रीय सदस्य पाण्डेले महामन्त्री थापालाई प्रश्न गर्दै सोधेका छन्, ‘महामन्त्री ज्यू ! तपाईंले बारम्बार भन्नुहुन्छ– महाधिवेशन त हुन्छ हुन्छ । तर, तपाईं महामन्त्री भएको बेला नै नियमित महाधिवेशन किन हुन सकेन ? पार्टीलाई विधानअनुसार अधि बढाउन जिम्मेवारी तपाईंको पनि थियो, होइन र ?’
‘महामन्त्रीको हैसियतमा तपाईंले पार्टीभित्रको अनुशासन, पारदर्शिता र संगठन विस्तारमा ठोस नतिजा दिनुभयो ? कि भाषण र घोषणामै सीमित रहनुभयो ?,’ थापालाई प्रश्न गर्दै पाण्डेले भनेका छन् ।
तरुण नेता पाण्डेले भनेका छन्, ‘तपाईंले तानाशाही र आत्मकेन्द्रित प्रवृत्तिको विरोध गर्नुभयो । तर, जब पार्टीमा त्यही प्रवृत्ति बलियो हुँदै गयो, त्यसबेला किन मौन रहनुभयो ? विरोध किन केवल भाषणमै सीमित रह्यो ?’
‘कांग्रेस सुधार नगरी मत पाउँदैन भन्ने चेतावनी तपाईंले पटक–पटक दिनुभयो । तर, सुधारका ठोस कदमहरू, कार्ययोजना वा नीति–परिवर्तन किन देखिएनन् ?,’ थापालाई नेता पाण्डेले प्रश्न गरेका छन् ।
‘कार्यकर्ताले तपाईंमा ठूलो विश्वास गरेर परिवर्तनको आशा राखेका थिए । अहिले धेरै कार्यकर्ता निराश छन् । तपाईंका अनुसार त्यो निराशाको जिम्मेवारी कसको हो ? नेतृत्वको, प्रणालीको कि तपाईंहरूको पनि ?,’ पाण्डेले प्रश्न गर्दै भने, ‘पार्टीको विधान, परम्परा र अभ्यास टेकेर अघि बढनुपर्ने बताउनुभयो । तर, व्यवहारमा कांग्रेसले बारम्बार त्यही सिद्धान्तको उल्लंघन गरेको देखिन्छ । त्यसको रोकथाममा तपाईंको पहल के थियो ?’
थापालाई प्रश्न गर्दै तरुण नेता पाण्डेले भनेका छन्, ‘गुटबन्दी, असन्तुष्टि र निराशा कांग्रेसभित्र पुराने रोग हुन् । तपाईं महामन्त्री हुँदा ती समस्याहरू किन भन् गहिरिए ? सुधारका कुरा तपाईंको भाषणमा प्रशस्त सुन्न पाइन्छ । तर, कार्यान्वयनमा शून्यता किन ? के पार्टीभित्र सुधारभन्दा बढी सन्तुलन र पद–राजनीति प्राथमिकता भएको हो ?’
‘आज कार्यकर्ताहरू भन्छन्– गफले कांग्रेस जोगिँदैन, अब ठोस कदम चाहिन्छ । तपाईंले अबका दिनमा पार्टी जोगाउन के ठोस कदम चालन लाग्नुभएको छ ?,’ नेता पाण्डेले महामन्त्री थापासँग गम्भीर प्रश्न उठाएका छन् ।
‘अन्त्यमा तपाईंको नेतृत्वमा पार्टीले पुनः विश्वास फिर्ता ल्याउने आधार के हो ? कार्यकर्ताले फेरि तपाईंलाई विश्वास गर्नुपर्ने कारण के छ ?,’ तरुण दलका केन्द्रीय सदस्य पाण्डेले महामन्त्री गगन थापासँग प्रश्न गरेका छन् ।
मंसिरमा कांग्रेसको नियमित महाधिवेशन आउन लागेको छ । महामन्त्री थापाले आफू निकटका नेताहरूलाई उचालेर विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाएका छन् । महामन्त्री थापाले कांग्रेसको १५औँ महाधिवेशन समयमा गराउने प्रमुख जिम्मेवारी लिनुपर्छ । महामन्त्री थापाले समयमा महाधिवेशन गराउन पनि नसक्ने, अनि विशेष महाधिवेशन चाहियो भनेर किन हस्ताक्षर गराउँदै हिँडेको हो ?
क्रियाशील सदस्यताको विवाद महामन्त्री थापाले अहिलेसम्म मिलाउन सकेका छैनन् । समय रहँदासम्म थापाले कानमा तेल हालेर बसे । अहिले आएर कांग्रेसको नेतृत्व जबरजस्ती हत्याउने सोँचका साथ गतिविधि गरिरहेका छन् ।
महामन्त्री थापाले आफ्नो आलोचना मन पराउँदैनन् । कसैले आफ्नो आलोचना गरिहाल्यो भने त्यस्ता नेता र कार्यकर्तालाई थापाले ब्ल्याक लिस्ट बनार राख्छन् । अनि समय आउँदा ती आलोचकहरूलाई भित्तामा पुयाउँछन् । यो कुराको खुलासा यसअघि कांग्रेस छाडेका पूर्वसांसद अमरेशकुमार सिंहले सार्वजनिक स्थानमा खुलासा गरिसकेका छन् । आफ्नो कसैले आलोचना गरिहाल्यो भने त्यस्ता आलोचकहरूका विरुद्ध महामन्त्री थापाले साइबर सेनालाई पछाडि लगाइदिन्छन् । र, तथानाम गालीगलौजमा उतार्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया