काण्डैकाण्ड लागेका विवादित खगेन्द्रलाई मन्त्री बनाउन जेनजी प्रधानमन्त्री सुशीलाको प्रस्ताव

काठमाडौं । आफूलाई दलित अभियन्ता दाबी गर्दै आएका विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउन प्रधानमन्त्री सुशीला कार्कीले प्रस्ताव गरेकी छिन् ।

खगेन्द्रलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् ।
खगेन्द्र दैलेखको नारायण नगरपालिका वडा नम्बर २ भैसेखोर निवासी खगेन्द्र कमान सिंहका छोरा र डिलबहादुरका नाती हुन् । उनी २०७८/७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फर्स्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोतले जनाएको छ । खगेन्द्रले काठमाडौंमा नेल लगाएर गरेको प्रदर्शनले मिडियामा राम्रै स्थान पाएको थियो ।

०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन पनि गरेका थिए । घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाएको थियो । जातीय छुवाछुत नभएको फैसला गरेको थियो । यो फैसलापछि खगेन्द्रले अदालतको ढोका अगाडि न्यायाधीशविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

त्यही विषयलाई लिएर अधिवक्ता मनीषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरेकी थिइन् । खगेन्द्रले अपशब्द प्रयोग गर्दै गौतमविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । उनले अधिवक्ता गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै लेखेको फेसबुक स्टाटसको स्क्रिनसट पनि अहिले भाइरल भइरहेको छ ।

गौतमको फोटो र मोबाइल नम्बर फेसबुकमा राख्दै सुनारले लेखेका थिए, ‘यसलाई यो नम्बर ९८६०….फोन गरेर सोधौं– त नेपाल बारको होस् कि ठमेल बार को ?’

उनले फेरि अर्को एउटा पोष्टमा लेखेका थिए, ‘कालो कोटको आडमा कालो धन्दावाली– तँलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामीसँग । तसँग दम छ ? दिउँसै कालोधन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’

Published : Sunday, 2025 October 26, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया