कांग्रेसद्वारा मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन गर्न देशभरका पार्टी निकायलाई परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन गर्न देशभरका पार्टी निकायलाई परिपत्र गरेको छ ।

शुक्रबार कांग्रेसले देशभरिका पार्टी निकायलाई परिपत्र गर्दै नवीन राजनैतिक सन्दर्भमा पार्टी केन्द्रीय समितिको जारी बैठकले उपयुक्त निर्णय गर्ने भन्दै व्यापक सक्रियता बढाउन जरुरी रहेको जनाएको छ ।

परिपत्रमा भनिएको छ, ʻछठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा सम्पूर्ण ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न र गराउन प्रतिनिधिका रूपमा जिम्मेवारी तोक्ने ।ʼ

जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाती राखेर मतदाता दर्ता अभियानमा लाग्न निर्देशन दिइएको छ ।

परिपत्रमा भनिएको छ, ʻजिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कार्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने, दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिननै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने ब्यहोरा सबैलाई स्पष्ट बुझाउने !ʼ

कांग्रेसले विशेष परिस्थितिमा विशेष जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न र गराउन आग्रह गरेको छ ।

Published : Friday, 2025 October 24, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया