बाँकेका सीडीओ हनुमान जीका भक्त कि रावणका अनुयायी ?

टी.पी. पाण्डे

नेपालगञ्ज । धर्म र विश्वासको नाममा जब प्रशासन चलाउन खोजिन्छ, त्यहाँ नीति र न्यायभन्दा पनि ‘दम्भ र भ्रामक नाटक’को शासन चल्न थाल्छ । बाँके जिल्लामा हाल कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आफूलाई हनुमान जीको भक्तका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर, उनको काम, सोँच र निर्णयले उनी हनुमान जीको सच्चा अनुयायी भन्दा पनि रावणको चरित्रसँग नजिक देखिन्छ ।

१) हनुमान जीको काम संकटमोचन गर्ने हो, न कि संकट निम्त्याउने

हनुमान जी ‘संकटमोचन’का रूपमा प्रसिद्ध छन् । अर्थात्, संकट हटाउने, न्याय र सत्यका लागि लड्ने। तर बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका गतिविधिहरूले उल्टो चित्र देखाउँछन् ।

शान्तिपूर्ण वातावरणमा प्रशासनिक संयमता अपनाउनु पर्ने बेला उनले उल्टै तनावपूर्ण निर्णयहरू गरी नागरिकबीच असन्तोष र द्वन्दको बीउ रोप्ने काम गरेका छन् । संकट हटाउनुको सट्टा उनले प्रशासनिक शक्ति र पदको आडमा संकट निम्त्याउने भूमिका खेलिरहेका छन् ।

२) नाम हनुमान जीको जप्ने, तर व्यवहार रावणको जस्तो गर्ने

धर्मराज जोशीका भाषण र कथनमा धार्मिक शब्दको भरपूर प्रयोग पाइन्छ—हनुमान जी, रामभक्ति, सत्यको रक्षा जस्ता शब्दहरू। तर व्यवहारमा उनी त्यसको पूर्ण उल्टो छन् ।

सत्ताको मदमा उनले नागरिक आवाजलाई दमन गर्ने, सच्चा तथ्य सार्वजनिक गर्न डराउने र आलोचना सहन नसक्ने प्रवृत्ति देखाएका छन् ।

हनुमान जीले प्रभु रामका आदेशमा सत्य, धर्म र सेवा चुनेका थिए, तर जोशीले त्यही नामको ओटमा ‘रावणको घमण्ड’ बोकेर जनताको अपमान र अन्यायलाई प्रश्रय दिएका छन् ।

३) जेन्जी आन्दोलनको जनधन क्षतिका जिम्मेवार प्रमुख जिल्ला अधिकारी नै हुन्

भदौ २४ गतेको जेन्जी आन्दोलनको समयमा जिल्लामा भएका तोडफोड, आगजनी र जनधनको क्षतिका घटनाहरू प्रशासनिक कमजोरीकै परिणाम हुन् ।

स्थानीय स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ती गतिविधिहरूको स्पष्ट जानकारी हुँदाहुँदै पनि सम्बन्धित कार्यालयका प्रमुखहरूलाई सचेत नगरिएको र आवश्यक सुरक्षा तयारी नगरेको पुष्टि हुन्छ।जुन कुरा कार्यालय र सवारीसाधनहरू जलेर कार्यालय र सवारी साधन बिहिन भएका कार्यालय प्रमुखहरू सुनाउछन।यो लापरवाहीले जिल्लाको सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ, जसको सीधा जिम्मेवारी जिल्ला प्रशासन प्रमुखको रूपमा जोशीकै काँधमा पर्छ । प्रशासनको प्रमुख भएर पनि उनले आफ्नो मूल कर्तव्यशान्ति, सुरक्षा र जनसुरक्षा—प्रति लापरवाही देखाएका छन् ।

४) नागरिक समाज र मिडिया बिरूद्धको गैरजिम्मेवार र विभाजनकारी रवैया

जोशीका पछिल्ला कार्यहरू झनै चिन्ताजनक छन् । अहिले नागरिक समाज, अधिकारकर्मी, संचारकर्मी र कानुन व्यवसायीहरूले उनको गलत आचरण र गैरजिम्मेवार प्रशासनिक शैलीको खुलेर विरोध गरिरहेका छन्।तर विरोधलाई आत्ममूल्यांकनको अवसर नबनाई उनले उल्टै कानुन विपरीत संचालनमा रहेका केही मिडियाहरूलाई संरक्षण गर्दै, भदौ २४ गतेको हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूलाई ‘जेन्जीका नाममा’ वैधता दिने जस्ता कार्यहरू गरिरहेका छन् ।

उनको यस्तो प्रवृत्तिले समाजलाई विभाजित बनाउने, द्वन्दको बीउ रोप्ने र प्रशासनप्रति नागरिकको विश्वास नष्ट गर्ने काम गरेको छ।यदि यस्तो स्थिति जारी रह्यो भने, यसको भविष्यमा देखिनसक्ने सबै प्रतिकूल परिणामको पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नै लिनुपर्नेछ ।

निष्कर्ष

हनुमान जीको नाममा धर्मको आवरण ओढेर सत्ता चलाउने प्रवृत्ति समाजका लागि खतरनाक हुन्छ । भक्तिको अर्थ अहंकार होइन, सेवा हो ।

यदि धर्मराज जोशी साँच्चै हनुमान जीका भक्त हुन् भने उनलाई चाहिने कुरा ‘संकट निम्त्याउने’ होइन, ‘संकट मोचन’ बन्ने हो—सत्य, न्याय र नागरिक जिम्मेवारीको बाटो समातेर।तर अहिलेको अवस्था हेर्दा उनी भक्तभन्दा पनि भ्रान्त प्रशासनिक पात्रको रूपमा उभिएका छन्, जसले हनुमान जीको नामको अपमान गरिरहेका छन् ।

Published : Saturday, 2025 October 18, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया