केन्द्रीय सदस्यहरूद्वारा नियमित महाधिवेशनको माग, जिम्मेवारी पूरा नगर्ने गगनको भूमिकाप्रति गम्भीर आशंका

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनलाई नियमित समयमा गर्नका लागि आग्रह गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने सदस्यहरूले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने माग गरे । नेताहरूले विशेष महाधिवेशनको औचित्य र आवश्यक्ता नरहेको बताएका छन् । मुलुकमा राष्ट्रिय संकट परेका बेला पार्टी एक भएर जाने बेलामा व्यक्तिगत स्वार्थका लागि पार्टी कब्जाको नीतिमा केही पदाधिकारी लागेको भन्दै सदस्यहरूले आलोचना गरेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नो पदीय हैसियत र जिम्मेवारी विपरित विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएको भन्दै नेताहरूले आक्रोश पोखेका छन् । महाधिवेशनको वातावरण बनाउने र क्रियाशील सदस्यताको विवाद समाधान गरेर प्रतिवेदन ल्याउन किन नसकेको हो भनेर महामन्त्री थापालाई प्रश्न पनि गरेका छन् ।

गण्डकी प्रदेशका सभापति एवम् आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले माघ २१ गतेको मध्यावधि निर्वाचन केही महिना पछाडि सार्नका लागि माग गरेका छन् । उनले निर्वाचन पछाडि सारेर कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि मध्यावधि निर्वाचन गर्नुपर्ने बताए ।

बैठकमा नेताहरूले जेनजी आन्दोलनपछिको परिस्थिति, संसद विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भ्रातृ संगठनहरूका गतिविधिका लगायतका विषयमा धारणा राखेका छन् ।

आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश कांग्रेसका सभापति वीरबहादुर बलायरले महामन्त्री गगनकुमार थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भनेर प्रश्न गरेका छन् । बलायरले एजेन्डा प्रस्तुत गर्दा मंसिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ ? भनेर प्रश्न उठाएका हुन् ।

उनले भने, ‘शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए ? कि केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको मिति तय गरेर सारेको थियो ?,’

‘महामन्त्रीले मंसिरमै महाधिवेशन गर्ने भन्नुभयो । गर्नुस् न कसले रोकेको छ ? शेरबहादुरले रोकेको हो ?,’ बलायरले भने, ‘जसको म्याद गुज्रिसकेको छ । उसको हस्ताक्षर ल्याएर म्याद सकिएको कार्यसमितिको विशेष महाधिवेशन गर्ने ? कसले छेक्यो, मंसिरमा महाधिवेशन गर्न ?’

महामन्त्री थापाप्रति संकेत गर्दै सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेको मान्छेले सरकारप्रति प्रश्न उठाउन नपाइने बलायर बताए । ‘हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, त्यो सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन ? । तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने ?,’ उनले भने ।

बलायरले सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरणको मूल्याङ्कनसमेत नगरी चुनावमा भाग लिनुपर्छ भन्नु राजनीतिक अपरिपक्वता भएको बताए । उनले भने, ‘यो सरकारले अहिलेसम्म राजनीतिक दलसँग वार्तासमेत गर्न सकेको छैन । चुनाव गराउने क्षमता राख्छ कि राख्दैन ? यसले त्यतातिर आफूलाई केन्द्रित गरेको छ कि अन्यत्रै ?’

सभापति देउवाले राजीनामा दिनुपर्छ, नभए कार्यवाहक दिनुपर्छ भन्नेहरूले एकै दिनमा देउवाको प्रशंसा सुरु गरेको बलायरले बताए । बलायरले भने– ‘हिजो शेरबहादुरले पार्टीमा बस्नुहुँदैन भन्नेहरूले आज प्रशंसा गर्दैमा चोखो हुँदैन, ईतिहाँसमा यसको लेखाजोखा गर्नेछ ।’

घरमै निर्घात कुटिएर अस्पतालमा भर्ना भएको र घर जलेर खरानी भएका बेला देउवाप्रति सद्भाव नदेखाउनेहरूले कार्यवाहक दिएपछि प्रशंसा गरेको नसुहाएको बलायरले बताए ।

केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् । उनले जेनजीहरूको माग र भावना अनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् ।

‘हालै, नेपाली कांग्रेसका जेनजी युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित ९ बुँदे अपील सार्वजनिक गरेका छन् । उहाँहरूको यो अपील, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो,’ उनले भनिन् ।

डा.संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखिसकेकाले अब मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।

‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सक्नु भएको छ । उहाँहरुको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंगसिर महिनाभित्रै नियमित १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नु पर्छ । सो महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ,’ डा.संग्रौलाले भनिन् ।

कांग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एक पटकका लागि आम माफी दिन समेत उनले प्रस्ताव गरिन् ।

उनले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुकअर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा राखिन् ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीका भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइका गाडी जस्ता भएको बताए । उनले भने, ‘हाम्रा भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइएका गाडी जस्ता भएका छन् । सबै भ्रातृ संगठनका समिति विघटन गरेर स्पष्ट मापदण्ड तयार गरी नयाँ तरिकाले भ्रातृ संगठनलाई अगाडि बढाइनुपर्छ । अब पुरानै तरिकाले न पार्टी चल्न सक्छ, न भ्रातृ संगठन चल्न सक्छ ।’

सदस्य कोइरालाले पार्टीभित्र अब आमूल सुधार र रुपान्तरण गरिनुपर्ने बताए । उनले भने, ‘महाधिवेशनबाट हामीले आमूल सुधार र रुपान्तरण गर्नैपर्छ । तसर्थ पार्टी रुपान्तरण हरेक कार्यकर्ताको दायित्व भएको छ, यसमा सबै गम्भीर जिम्मेवार बन्नुपर्छ ।’

कांग्रेसको बैठकमा विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी छ । कार्यसमितिको बैठक कात्र्तिक १ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा.डिला संग्रौला, डा.गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले आ–आफ्नो धारणा राखेका थिए ।

Published : Friday, 2025 October 17, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया