सिटौलाद्वारा जिल्ला सभापति, केन्द्रीय सदस्यहरूसहितका युवाहरूसँग परामर्श, गगनलाई जिम्मेवारी पूरा गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जिल्ला सभापति, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

बिहीबार काठमाडौंको कान्तिपथमा नेता सिटौलाले आफू निकटका नेताहरूसँग छलफल गरेका हुन् । सहभागीहरूले कांग्रेसको १५औँ महाधिवेशन नियमित रुपमा गर्नुपर्ने सुझाव दिएका छन् ।

वर्तमान कार्यसमितिको समयमावधि एक महिना मात्रै बाँकी रहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाएको भन्दै नेताहरूले आलोचना गरेका छन् । उनीहरूले मुलुक राष्ट्रिय संकटमा रहेका बेला महामन्त्रीद्वय थापा र शर्माले व्यक्तिगत स्वार्थका लागि पार्टी कब्जा गर्न खोजेको भन्दै सचेत गराएका छन् ।

नेता सिटौलाले नियमित महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्ने बताए । उनले वडादेखि केन्द्रसम्म समयमा महाधिवेशन गरेर जानुपर्ने बताए । जेनजी पुस्ताको आन्दोलनको मागलाई सम्बोधन गर्न पनि वडादेखि केन्द्रसम्म महाधिवेशन गरेर सबैलाई अवसर दिनुपर्ने बताए ।

महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले महाधिवेशन आउन १ महिना बाँकी रहँदासम्म समेत काम गर्न नसकेको भन्दै नेताहरूले चिन्ता जनाएका छन् । उनीहरूले महाधिवेशन महामन्त्री थापाले समयमा कार्यसम्पादन नगरेका कारण ढला हुन सक्ने बताए ।

महामन्त्री थापाले पुरानै महाधिवेशन प्रतिनिधिहरूमार्फत १५औँ महाधिवेशन गर्न खोजेका छन् । थापा र शर्माले क्षेत्र र जिल्ला अधिवेशन गरेर एकैचोटी केन्द्रको महाधिवेशन गर्ने पक्षमा छन् । परिवर्तन र जेनजी पुस्तालाई पनि समेट्नुपर्ने भन्ने नयाँ पुस्तालाई महाधिवशनमा भाग लिने बाटो बन्द गर्न खोज्ने थापा र शर्माको गतिविधिको छलफलमा विरोध भएको छ ।

छलफलमा नेताहरू भीमसेनदास प्रधान, कुन्दनराज काफ्ले, जीतबहादुर शेरचन, रञ्जीत कर्ण, पुष्प शाही, भुपेन्द्रजंग शाही, देवेन्द्र घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 October 16, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया