देउवा जस्तो नेता पाउनु हामीलाई कांग्रेस हुनुमा गर्व छ, गगनजीकै कारण समयमा महाधिवेशन हुँदैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूले खुकुरी खाएर गम्भीर घाइते हुँदा समेत मुलुकलाई निकास दिने क्रममा सभापति शेरबहादुर देउवाद्वारा दिइएको वक्तव्यले अन्तर्राष्ट्रिय जगतलाई समेत प्रभाव पारेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता बस्नेतले भने, ‘उहाँ (सभापति शेरबहादुर देउवा)को वक्तव्यले मुलुकमा सनसनी फैलिएको छ । अन्तर्राष्ट्रिय जगतलाई समेत प्रभाव पारेको छ । हामीलाई कांग्रेस हुनुमा गर्व छ ।’

उनले भने, ‘पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यूले आफ्नो दुःख परेको बेला, ज्यानै लिने खालको प्रयास गरेर खुकुरीले गर्दनमा हानेर छ्याकछ्याक बनाएको मान्छे उहाँ आएर पार्टी एकढिक्का बनाएर लैजानुपर्छ मेरो चोट सामान्य हो, देशलाई ठूलो चोट परेको छ, तपाईहरू मिलेर काम गर्नुस् म कार्यबाहक सभापति पूर्णजीलाई दिन्छु भनेर जुन किसिमको वक्तव्य जारी गर्नुभयो ।’

‘कुनै पनि पार्टीहरूलाई गालीगलौज नगरेर, नेताहरूलाई गालीगलौज नगरेर आफूले सकेको मुलुक र जनतालाई सधैभरि योगदान दिने प्रतिवद्धता समेत गर्नुभयो,’ बस्नेतले भने, ‘केपी ओलीले छोड्दैन भनेको अवस्था, प्रचण्डले अध्यक्ष छोडेर संयोजक लिएको अवस्था, यो अवस्थामा नेपाली कांग्रेस जनभावनाअनुसार कसरी लाग्दो रहेछ र त्यो पार्टीको सभापति शेरबहादुर देउवा कस्तो हुनु हुँदो रहेछ ।’

नेता बस्नेतले विशेष महाविधेशनको आवश्यक्ता नरहेको भन्दै नियमित महाविधेशन गर्नुपर्ने बताएका छन् । उनले महामन्त्री गगनकुमार थापाकै कारण महाधिवेशन समयमा हुने सम्भावना निकै कम रहेको समेत बताए । क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक भएर महामन्त्री थापाले समयमा काम नगरेको उनले बताए ।

‘विशेष महाधिवेशनका कुरा पनि चलिरहेका छन् । हस्ताक्षर क्याम्पने पनि चलिरहेको छ । यो गलत काम हो,’ नेता बस्नेतले भने, ‘महाधिवेशनको तयारीका लागि पार्टीको महामन्त्री गगन थापाजीलाई क्रियाशील सदस्यता छानविन र व्यवस्थापन समितिको संयोजक बनाइएको छ ।’

बस्नेतले भने, ‘मंसिरमा हुनुपर्ने महाधिवेशन अहिले कात्तिक लाग्न लागिसक्यो । कुनै पनि किसिमको तयारी भएको छैन । जिल्ला जिल्लामा क्रियाशील नवीकरण पनि भएको छैन । नयाँ बाँड्ने काम पनि भएको छैन । आफ्नो जिम्मेवारीको काम पनि नगर्ने त्यो कुरालाई छल्नका लागि विशेष महाधिवेशनको कुरा गरेर हिँड्ने ।’

‘यो नितान्त व्यक्तिगत स्वार्थका लागि त्यसमा पनि भन्नुपर्दा १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूले मात्रै भोट हाल्न पाउनु पर्ने, कसलाई चुन्ने भन्दा केन्द्रीय सदस्य र पदाधिकारीलाई चुन्ने । यो चाहिँ नितान्त स्वार्थी काम हो । यो हुन सक्दैन,’ बस्नेतले भने ।

‘युवाको कुरा पनि गर्ने । पुस्तान्तरणको कुरा पनि गर्ने । जेनजी पुस्ताको कुरा पनि गर्ने । जेनजी पुस्तालाई भाग लिन पनि नदिने,’ नेता बस्नेतले भने, ‘वडादेखि पार्टीको विधानअनुसार वडादेखि नै अधिवेशन हुनुपर्छ । वडादेखि जिल्लासम्म भाग लिन नपाउने । एकैचोटी पुरानाले भोट होलर आफू निर्वाचित भएर नेता हुन खोज्ने । यो स्वार्थी काम हो । यो गैरजिम्मेवारी काम हो । कुनै पनि हालतमा विशेष महाधिवेशन हुन सक्दैन । नयाँ पुस्ताले पनि सहभागी हुन पाउने । वडादेखि केन्द्रसम्म परिवर्तन खोज्नेहरूका लागि मौका पनि हुने ।’

उनले भने, ‘नियमित महाधिवेशन चाढै गर्नुपर्छ । नियमित महाधिवेशन गर्नका लागि गगनजीको नेतृत्वमा सम्भव देखिएन । त्यसमा ६÷७ को संख्या थप गरेर भए पनि महाधिवेशन व्यवस्थापन सञ्चालन गर्ने टिम तयार गरेर नियमित महाधिवेशनमा जानुपर्छ ।’

नेता बस्नेतले भने, ‘हस्ताक्षर गर्नेहरूको चाहना पनि महाधिवेशन चाडो गर्ने भन्ने हो । चाडो गर्ने हो भने हस्ताक्षर गर्नेहरूको माग पनि पूरा भएको भइहाल्यो । एउटा मात्रै बिकल्प नियमित महाधिवेशन गर्ने हो ।’

केन्द्रीय सदस्य बस्नेतले सरकार असंवैधानिक रहेको भन्दै सरकारलाई संवैधानिक बनाउन संसद पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । उनले भने, ‘सरकारले निर्वाचनको घोषणा गरेको छ । सरकार आफै असंवैधानिक छ । असंवैधानिक तरिकाले पार्लियामेन्ट भङ्ग गरेको छ । यत्तिकै भरमा संविधानको धाराहरू संशोधन नगरेर चुनावमा जाने र स्वतन्त्रपूर्वक, निर्भयपूर्ण अवस्थामा निर्वाचनमा जाने वातावरण छैन । यति हुँदाहुँदै पनि कांग्रेस प्रजातन्त्र, मतमा विश्वास गर्ने, निर्वाचनमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावको लागि तयारी गर्नुपर्छ ।’

‘गैर संवैधानिक तरिकाले सरकार बनेको हुनाले त्यस्तो खालको सरकार जो प्रधानमन्त्री दलहरूसँग वार्ता गर्न चाहँदैन भनेर बारम्बार भनिरहनु भएको छ । दलहरूको सहयोगबिना संविधान संशोधनको कुरा छैन । संविधान संशोधन गर्न पार्लियामेन्ट चाहिन्छ,’ उनले भने ।

‘पार्लियामेन्ट पुनर्स्थापना गर्नुपर्छ । संसद पुनर्स्थापना गरेपछि दलहरूको समर्थनमा जेनजीका प्रतिनिधि, दलहरूका प्रतिनिधि त्यसमा आवश्यकता भए कुटनैतिक क्षेत्रका प्रतिनिधिहरूको समेतलाई लिएर, जेनजीको भावनाको प्रतिनिधित्व गर्ने, मुलुकलाई संकटबाट जोगाउने, संविधान जीवित राख्ने र नेपाललाई कुनै पनि देशको असुरक्षा हुने खालको भूमिका हाम्रो भूभागमा हुन दिँदैनौँ भन्ने छिमेकी देशहरूलाई पनि समेट्न सक्नुपर्छ । राष्ट्रिय सरकार बन्नुपर्छ । दलहरूसहित सबै पक्षका प्रतिनिधित्व गरेर राष्ट्रिय सरकार बनाएर चुनावी सरकार बनाइ चुनावमा जानुपर्छ,’ नेता बस्नेतले भने ।

Published : Thursday, 2025 October 16, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया