महामन्त्रीजीहरू विशेष महाधिवेशन होइन, नियमितको कार्यतालिका ल्याउनुस् : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले घोषित निर्वाचनमा सबै नेपालीलाई सहभागी गराउने वातवरण निर्माण गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै डा.कोइरालाले निर्वाचनले मात्रै सम्पूर्ण नेपालीलाई एउटै अभियानमा भविष्यमुखी दिशातर्फ लैजान सकिने बताए । उनले भने, ‘सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौं, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।’
डा.कोइरालाले भने, ‘मलाई लाग्छ निर्वाचनको विकल्प सोच्दा आउने परिणामले हामीलाई युवा पुस्ताबाट मात्र होइन देशको राजनीतिबाट पनि असान्दर्भिक बनाउन सक्छ ।’
कांग्रेस मात्र नभएर अन्य राजनीतिक दल, सबै पुस्ता, सञ्चार क्षेत्र, सहयोगी देश तथा विकास साझेदार निकायलगायत जेन–जी पुस्ता सबैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको डा.कोइरालाले बताए ।
‘यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन । कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनतावीच पुनर्स्थापित गर्नुपर्दछ,’ डा.कोइरालाले भने, ‘आम निर्वाचनको वातावरण बनाउन सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्नुपर्छ ।’
निर्वाचनलाई भयरहित बनाउन सरकारले लुटिएका हतियारहरू सरकारको नियन्त्रणमा आउनुपर्ने र त्यसक्रममा जेलबाट भागेका अपराधीहरूलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्न नहुने उनले बताएका छन् ।
‘त्रासमा बसेको समाजले निर्बाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यसतर्फ वर्तमान सरकारको सक्रियतामा केही कमी देखिएको छ,’ डा.कोइरालाले भने ।
‘जेन–जी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता कुरालाई कुनै पनि सभ्य समाजले स्वीकार्न सक्दैन,’ उनले भने, ‘व्यक्तिको घर र सम्पति, राष्ट्रिय सम्पदा, उद्यमी व्यवसायीको घर, व्यापारिक केन्द्र, सरकारी भवनहरुमा भएको आगजनी, लुटपाट र राष्ट्र निर्माणमा योगदान दिने नेताहरूका घरहरूमा भएको आगजनी र विध्वंसले हाम्रो समाजमा ठूलो घाउ छोडेको छ । यो अपूरणीय क्षति हो ।’
उनले भने, ‘त्यस्ता असामाजिक र अपराधी काम गर्ने तत्वको पहिचान गरी तिनलाई प्रचलित कानून बमोजिम दण्ड नदिएर उन्मुक्ति दिने कार्य कदापि स्वीकार्य हुँदैन ।’
डा.कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउन ०८२ मंसिर महिनाभित्रै पार्टीको १५औं महाधिवेशन गरिनुपर्ने प्रस्ताव राखेका छन् । ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु,’ डा.कोइरालाले भने ।
‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र कांग्रेसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै उर्जा भर्न हो भनी म बुझ्छु,’ नेता डा.कोइरालाले भने ।
यी सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव हुने उनले बताए । ‘यो ऐतिहाासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन । सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ । हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया