संख्या नपुगेपछि अध्यक्ष लिङ्देन संकटमा, आलोचना गर्नेहरूलाई डोजर लगाएर पेलेर जाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि राजनीतिक इमान्दारी र नैतिकताको संकट उत्पन्न भएको छ ।

बुधबार केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकबाट अनुशासनको कारवाही र अध्यक्ष आफूमा अधिकार केन्द्रिकृत गर्ने निर्णय गरे पनि बैठकको गणपूरक संख्या नपुगेको तथ्य प्राप्त भएको छ । कोरम नपुगेर उक्त बैठकका निर्णयले वैधता नपाउने अवस्थामा अध्यक्ष लिङ्देनमाथि राजनीतिक निष्ठाको प्रश्न खडा भएको छ । लिङ्देनले भ्रष्टाचार र अनियमिततालाई आमाको रगत खाए सरह मान्दै आएका छन् ।

कार्यसम्पादन समिति बैठकमा संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द लगायत २५ सदस्यहरू अनुपस्थित थिए । दीपक बोहरा र बालाराम घर्ती मगर दुई नेताको निधन भइसकेको छ ।

दुई महामन्त्रीहरू डा.धवलशम्शेर जबरा र कुन्ती शाहीले चार शर्त राख्दै बैठक बहिष्कार गरेका छन् । बैठकमा कुल २७ सदस्य अनुपस्थित रहेको राप्रपाका नेताहरूले बताएका छन् ।

पार्टी संस्थापनले बैठकमा ३१ सदस्य उपस्थित रहेको दाबी गरे पनि बास्तविकता फरक रहेको बैठकमा उपस्थित दुई नेताले स्पष्ट गरेका छन् । ५२ सदस्य रहेको कार्यसम्पादन समितिमा जम्मा २५ सदस्य बैठकमा उपस्थित थिए । बैठकमा सहभागी रहेका स्थायी आमन्त्रित सदस्यहरू निरञ्जन थापा र मोहन श्रेष्ठको विधानतः भोटिङ राइट छैन ।

गणपूरक संख्या पुग्न २७ सदस्य बैठकमा उपस्थित हुन जरुरी छ । बैठकमा जम्मा २३ जना वैधानिक सदस्य मात्र सहभागी भएका थिए ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले मिडियामा बोल्दै ३१ जना सदस्य बैठकमा उपस्थित रहेको भन्ने गलत र भ्रामक आंकडा सार्वजनिक गरेको राप्रपाका एक नेताले बताएका छन् । ‘अझ पार्टी प्रवक्ताले चार जना सदस्यको निधन भएको भनेर पार्टी नेताहरुलाई जिउँदै मार्ने काम गरेको देख्दा आश्चर्य चकित भएका छौं,’ राप्रपाका असन्तुष्ट नेताहरूले भनेका छन् ।’

राप्रपा अध्यक्ष लिङ्देनलगायत केन्द्रीय कार्य समितिको चार वर्षे कार्यकाल आगामी मंसिर १६ अन्त्य हुँदैछ । लिङ्देनको अध्यक्षतामा आयोजित कार्यसम्पादन बैठकले जिल्ला र स्थानीय तहको अधिवेशन मंसिर मसान्तसम्म सारेर पार्टीको वैधानिक व्यवस्थालाई ठाडै अस्वीकार गरेका छन् ।

निर्णय जे जस्तो गरे पनि गणपूरक संख्या नपुगेको कारण बैठकले वैधानिक नपाउने अवस्था देखिएको राप्रपाका नेताहरूले बताएका छन् । अध्यक्ष लिङ्देनले पार्टीभित्र निरंकुशता देखाउँदै आएका छन् । आफ्ना विरोधी नेताहरूलाई लिङ्देनले डोजर लगाएर पेलेर लैजाने प्रवृत्ति देखाएपछि राप्रपा फुटको संघार नजिक पुगेको छ ।

Published : Thursday, 2025 October 16, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया