निर्वाचनका लागि शान्ति सुरक्षाको ग्यारेण्टी छैन, महाधिवेशनबाट नेतृत्व हस्तान्त्रण गर्छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेको बताएका छन् ।

पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा देउवाले भने, ‘केन्द्रीय म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने “घरमा सधैं एकै जना मुली रहँदैन” पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन ।’

‘जहाँसम्म मेरो विषय छ – मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु,’ देउवाले भने, ‘आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन ।’

उनले भने, ‘देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ ।’

‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ,’ उनले भने, ‘जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ ।’

देउवाले भने, ‘सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी छैन ।’

‘सुरक्षा निकाय मनोवल गिरेर निरिह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्बाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो । यसतर्फ सरकारको ध्यान जाओस्,’ सभापति देउवाले भने, ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो बिश्वास छ ।’

उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ ।’

‘मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको ईतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढौं,’ देउवाले भने ।

‘तपाईहरूलाई थाहानै छ म किशोर अवस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि जीवन पर्यन्त संघर्ष गरेको व्यक्ति हुँ । म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन,’ उनले भने, ‘धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ ।’

सभापति देउवाले भने, ‘सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो – राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।’

‘मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरूको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ । मैले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको छु,’ देउवाले भने, ‘देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु, अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु ।’

सभापति देउवाले भने, ‘मैले सदैव साथीहरूबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु । साथीहरूका प्रति मेरो पनि त्यत्तिकै प्रेमभाव र समर्थन छ ।’

‘मैले नेपाली कांग्रेसलाई सधै सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयाश गरे । चाहे पार्टीभित्र कदमजमको नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरूमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियाननै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु,’ देउवाले भने ।

‘मैले छोटो छोटो समयका लागि भएपनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए । पाँच पटक प्रधानमन्त्री हुँदा करिव एक कार्यकालको समय थियो,’ उनले भने, ‘त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए । तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईहरूलाई अवगत नै छ ।’

उनले भने, ‘सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छुवाछुतमुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ । नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ जारी गरेको हुँ ।’

‘नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदवन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो,’ सभापति देउवाले भने ।

उनले भने, ‘सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११औं संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला र पुरुषको हक स्थापित गरेको हुँ । दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ ।’

‘मुलुकको आर्थिक रुपान्तरणमा डिपार्चरको रुपमा रहेको मूल्य अभिवृद्दि कर लागू गरेर कर प्रणालीलाई वैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्वकालमा सुरु भएको हो,’ देउवाले भने, ‘प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा केही कमि कमजोरी पनि भए होला तर, मैले सकभर नेपाली जनतालाई र पार्टीलाइ केन्द्रमा राखेर नै काम गरे ।’

‘केन्द्रीय कार्यसमितिका निर्णयहरू सबै सर्वसम्मत भएका छन् । सरकारमा हुँदा भएका पदीय जिम्मेवारी पनि सरसल्लाहमै भएका छन् । सकभर सबै साथीहरूलाई पार्टीको निर्णय प्रक्रियामा सहभागी गराएको छु,’ सभापति देउवाले भने ।

Published : Tuesday, 2025 October 14, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया