देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगत ८० वर्षमा नेपाली कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबै भन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए ।

‘जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने नेपाली कांग्रेसको विशेषताले नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरी रह्यो,’ देउवाले भने ।

‘लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन हुन् नेपाली कांग्रेसले ठीक राष्ट्रिय एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्‍याएको छ,’ उनले भने ।

‘अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरि फैलिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु,’ देउवाले भने, ‘त्यसैले पनि हामीले समसामयीक राजनीतिको सहि विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ ।’

सभापति देउवाले भने, ‘यस बैठकबाट हामीले नेपाली कांग्रेसले आफ्नो ईतिहाँसमा आर्जित विश्वनीयतालाई पुर्नपुष्टि गर्नु पर्दछ । विद्यमान अवस्थामा मुख्य रुपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नुपर्नेछ ।’

Published : Tuesday, 2025 October 14, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया