नेतृत्व मात्रै परिवर्तन गर्न खोज्ने गगन-विश्वको षड्यन्त्रको युवा नेताहरूद्वारा विरोध, नियमित महाधिवेशन गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले विशेष महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई मात्रै परिवर्तन गर्ने कार्य कुनै हालतमा स्वीकार्य नरहेका जनाएका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा युवा नेता रञ्जित कर्णको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउँदै सभापति देउवा बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई यथावत राख्नका लागि हुने विशेष महाधिवेशन कदापि स्वीकार्य नहुने जनाएका हुन् । समितिलाई यथावत् राखेर केन्द्रीय नेतृत्व मात्र बदलाव गर्ने प्रयास कांग्रेसको आन्तरिक लोकतान्त्रिक मूल्य र प्रक्रियाको अपमान रहेको नेता कर्णले बताएका छन् ।
नेता कर्ण नेतृत्वमा पार्टी कार्यालयमा आएका नेताहरूले कांग्रेसको नियमित महाधिवेशनको मागसहित ध्यानाकर्षण पत्र केन्द्रीय समिति र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बुझाइएको छ । ‘यो सम्पूर्ण कांग्रेसजनको साझा आवाज र संगठनप्रतिको जिम्मेवार पुकार हो,’ नेता कर्णले भने ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले जेनजी आन्दोलनको बहानामा धमिलो पानीमा माछा मार्न खोज्दै विशेष महाधिवेशनको माग गरेर सभापति देउवालाई नेतृत्वबाट हटाएर गगन सभापति बन्न खोजेपछि विरोधहरू भइरहेको छ । राष्ट्रिय राजनीतिमा कुनै निर्णय नै नगरेर महामन्त्री गगन थापाले नेतृत्व कब्जाको रणनीति बनाएपछि युवा नेताहरूले विरोध गरेका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक प्रणालीप्रति देशी, विदेशी षड्यन्त्रको वादल मडारिइरहेको वर्तमान संकटको अवस्थामा यही भाद्र २३ गते जेनजी युवाहरूको सहभागितामा भएको सुशासन र भ्रष्टाचार विरोधी कार्यक्रमले दिएको राजनीतिक सन्देश र युवाहरूले उठाएका विषयवस्तुहरू तथा भाद्र २३ गते भएको विद्यार्थी हत्या, भाद्र २४ गते शान्तिपूर्ण आन्दोलनको आवरणमा भएको हिंसा, अराजकता, विध्वंस र राज्य उपद्रवको कारण भएको भौतिक तथा मानवीय क्षति, शान्ति सुव्यवस्था कायम गर्न राज्य असफल भएको घटना, सूचना प्रवाहमा भएको कमी कमजोरीको समीक्षा र विश्लेषण गरी आवश्यक निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं ।’
‘जेनजी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संवैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसदको सबैभन्दा ठूलो दल तथा संविधान र लोकतन्त्रको पहेदार पार्टीको हैसियत कायम गरी संसदवादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं,’ कांग्रेसका युवा नेताहरूको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘यही २०८२ फाल्गुण २१ गतेको लागि घोषणा भएको निर्वाचनमा पार्टीको सक्रिय सहभागिता तथा प्रतिनिधिसभाको पुनर्स्थापनाको सम्बन्धमा राजनीतिक र एजेन्डागत छलफल गरी पार्टीको आधिकारिक धारणा निर्माण गर्न र नेपाली कांग्रेसको सो साझा अवधारणा कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गर्न नेपाली कांग्रेस केन्द्रिय समितिको ध्यानाकर्षण गर्न चाहन्छौं,’ उनीहरूले भनेका छन् ।
‘नेपाली कांग्रेसको १५औं महाधिवेशनका सम्बन्धमा विधिवत र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम हो । पार्टीको पुनर्गठन पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरूपमा अधि बढ़ाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्र हो भन्ने हाम्रो निष्कर्ष हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘तसर्थ १५औँ महाधिवेशनको सुनिश्चितताको लागि स्पष्ट समय तालिका सहित मंसिर मसान्तभित्र महाधिवेशन हुनसक्ने आधार र कार्ययोजना ल्याउन नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं,’ नेता कर्णले भनेका छन्, ‘अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग समेत गर्दछौं ।’
‘यही भाद्र २३ २ २४ गते जेन्जी विद्रोहको नाममा भएको जनधनको क्षति, तोडफोड, आगजनी र विध्वंसको निष्पक्ष छानविन गरी दोषी उपर कडा कार्वाही गर्न हामी जोडदार माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आन्दोलनको नाममा नेपालको महत्वपूर्ण राजनीतिक र न्यायीक संस्थाहरू, सास्कृतिक सम्पदा र पुरातात्विक महत्वका धरोहरहरूमा भएको यस्तो विध्वंसात्मक गतिविधि, आगजनी र लुटपाटको घटनाले सम्पूर्ण नेपालीको शीर निउराएको छ ।’
‘यसक्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको निवास बिराटनगर, सर्वोच्च नेता गणेशमान सिंह स्मृति भवन चाक्सिबारी, सन्त नेता किसुनजी आश्रम बाडेगाउँ जस्ता राजनीति धरोहरहरू तथा पार्टी सभापति शेरबहादुर देउवा लगायत शीर्षस्थ नेताको निवासमा भएको आक्रमण, तोडफोड, आगजनी र लुटपाटको घटनालाई हामीले षड्यन्त्रको रुपमा लिएका छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सो अपराधिक कार्यको घोर निन्दा गर्दछौं । यसै गरी भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँकी
धर्मपत्नी, केन्द्रीय सदस्य डा.आरजु देउवामाथि भएको बर्बरता पूर्ण आक्रमण र सांघातिक हमलाको घोर भर्त्सना गर्दछौं ।’
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘घाइते देउवा दम्पतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हत्या गर्ने मनसायले गरिएको अमानवीय घटनामा संलग्न अपराधिक गिरोहलाई कडाभन्दा कडा कार्वाही गर्न माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘जेनजी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको मुद्दालाई भने पार्टीले गम्भीरता पूर्वक लिन आवश्यक छभन्ने हामो ठम्याई हो’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसका लागि पार्टीबाट सिफारिस भै राज्यका विभिन्न ओहदामा पुगेका, लाभको पदमा बसेका व्यक्तिको आर्थिक अनुशासनलाई पारदर्शी बनाउन केन्द्रीय समितिले आन्तरिक अनियमितता छानविन आयोग गठन गरी २०४६ सालपछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानविन गर्न र भविष्यमा पार्टीभित्र कुनै पनि जिम्मेवारी प्राप्त गर्न तथा सार्वजनिक पदको लागि पार्टीबाट सिफारिस गर्दा पारदर्शिताको क्लिन चिट प्राप्त व्यक्ति हुनु पर्ने व्यवस्था गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं ।’
‘लोकतन्त्र भन्ने विधिको शासन मात्र होइन यसले नेता कार्यकर्तामा सोही अनुरुप लोकतान्त्रिक व्यवहार जीवन पद्धतिको अपेक्षा राख्दछ । लोकतान्त्रिक शैली, भष्ट्राचारमुक्त आचारण, पारदर्शी जीवन पद्धतिको लागि केन्द्रदेखि स्थानीय तहसम्म लागू हुनेगरि आचरण संहिता जारी गर्न समेतआग्रह गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया