नेविसंघद्वारा ओली, लेखक र बालेनमाथि अनुसन्धान गर्न माग, कांग्रेसमा नियमित महाधिवेशन गर्न आग्रह
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’, पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी ओली, लेखक र बालेनले लिनुपर्ने बताए । उनीहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारसँग शेर्पाले माग गरेका छन् ।
‘त्यो छानबिनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह पनि आउनुपर्छ । उहाँले सिंहदरबार जलाउनुपर्छ भनेर युवाहरूको माइन्डसेट गर्नुभएको थियो,’ शेर्पाले भने, ‘उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नुभएको थियो । जसले यो आन्दोलनको लिडर भनिरहनुभएको छ ।’
‘उहाँहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो,’ नेविसंघका अध्यक्ष शेर्पाले भनेका छन् ।
नेविसंघले भोलिदेखि जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
यसैबीच, नेविसंघले आगामी फागुन २१ गते तोकिएको निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन गर्न माग गरेको छ । नेविसंघले चुनावभन्दा अगाडि महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको छ ।
अध्यक्ष शेर्पाले पार्टीमा रहेका युवाहरूको भावनालाई बुझ्दै निर्वाचन अघि महाधिवेशन गरेर पार्टीलाई शुद्धीकरणतर्फ अघि बढाउन माग गरेका छन् ।
नेविसंघले आन्दोलनका क्रममा सुनियोजितरूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न पनि माग गरेको छ ।
नेविसंघले देशको शान्ति सुरक्षा र स्थायित्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरूको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
नेविसंघले पार्टीका इकाई सभापतिदेखि लिएर केन्द्रीय सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण सार्वजनिक गर्नुपर्ने माग गर्ने भएको छ । गत असोज २५ गते प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले इकाई सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारीदेखि पार्टी सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने माग पार्टीसमक्ष गर्ने निर्णय गरेको हो ।
नेविसंघले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने, काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह लगायत सम्पूर्णमाथि आवश्यक छानविन गरी कडाभन्दा कडा सजाय हुनुपर्ने निष्कर्ष निकाले छ । ‘जेनजी आन्दोलनमा घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने र टिप्पणी गर्ने काठमाडौं महानगरपालिकाका नगरप्रमुखलगायत सम्पूर्णमाथि आवश्यक छानविन गरी कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्ने निष्कर्षसहित सिंहदरबार, प्रतिनिधिसभा, सर्वोच्च अदालत, व्यवसायिक भवनजस्ता सार्वजनिक र निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटजस्ता फौजदारी कुसूरजन्य अपराधमा संलग्नविरुद्ध अविलम्ब नेपालको कानूनी व्यवस्थाअनुसार निष्पक्ष अनुसन्धान र कारबाही अगाडि बढाउन सरकारसमक्ष माग गर्ने,’ नेविसंघले भनेको छ ।
नेविसंघले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सरकारद्वारा बर्बर दमन भएको विषयका सम्बन्धमा तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री, गृह प्रशासनको विभिन्न तहको नेतृत्वमा रहेका प्रशासकमाथि निष्पक्ष छानविन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न मानवअधिकार आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया