जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा, हस्ताक्षर दुरुपयोग गरी गगन-विश्वले कांग्रेस फुटाउन सक्ने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको नियमित महाधिवेशनका लागि नेतृत्वलाई सुझाव दिएका छन् ।

आइतबार काठमाडौंमा सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला निकटका जिल्ला सभापतिहरूको संयुक्त भेलाले कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमा गर्नुपर्ने सुझाव दिएका हुन् । उनीहरूले अहिले राष्ट्रिय राजनीति तरल अवस्थामा रहेको भन्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला मिलेर संकटमा रहेको मुलुकलाई कांग्रेस एक भएर निकास दिनुपर्ने सुझाव दिएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको नेतृत्व हत्याउन विशेष महाधिवेशन भनेर हस्ताक्षर अभियान चलाएका बेला जिल्ला सभापतिहरूले विशेष महाधिवेशन अस्वीकार गर्दै नियमित महाधिवेशन गर्न सुझाव दिएका हुन् ।

जिल्ला सभापतिहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर नियमित महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिलाई दबाब दिने सहमति गरेका छन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ), महेन्द्रध्वज जि.सी. (नवलपुर), तेजेन्द्र खनाल (ओखलढुङ्गा), बुद्ध लामा (मकवानपुर), रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरूले भेलापछि पार्टीको विधान संशोधनसहितका विषय समेटेर सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एक जिल्ला सभापतिले बताए ।

महामन्त्री थापा र शर्माको हस्ताक्षर अभियानले कांग्रेसलाई विभाजन गर्न सक्ने भनेर जिल्ला सभापतिहरूले चिन्ता जनाएका छन् । उनीहरूले जिल्लामा भएको हस्ताक्षरलाई थापा र शर्माले पार्टी विभाजनमा दुरुपयोग गर्न सक्ने भन्दै सचेत गराएका छन् ।

Published : Sunday, 2025 October 12, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया