देउवासँग कार्यबाहक सभापति माग गरेको समाचारको खण्डन, गगनको डिजाइनको पर्दाफास
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग आफूले कार्यबाहक सभापति माग गरेको भनेर आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आइतबार नेता डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले प्रेस विज्ञप्ति जारी गरेर कार्यबाहक सभापति माग गरेको भनेर केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारहरूको खण्डन गरेका हुन् । नेता डा.कोइरालाले भने, ‘कार्यबाहक सभापति माग गरेको भनेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन्,’ डा.कोइरालाले भने, ‘समाचारमा उल्लेख गरिएका विषयहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु ।’
‘जिम्मेवार सञ्चार माध्यमले समाचार प्रकाशित गर्नुअघि कम्तिमा सूचना परीक्षण गर्ने पत्रकारिताको न्यूनतम आचारसंहिताको पालनाका लागि अनुरोध समेत गर्दछु,’ नेता डा.कोइरालाले भनेका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाको डिजाइनमा केही अनलाइन सञ्चारमाध्यमले सभापति देउवा र नेता डा.कोइरालाविरुद्ध निरन्तर समाचारहरू प्रकाशित गरिरहेका छन् । संकटमा परेको मुलुक, राष्ट्रिय राजनीति र कांग्रेसलाई बचाउन सभापति देउवा र नेता डा.कोइरालाले आ–आफ्नो पक्षबाट पहल गरिरहेका बेला विशेष महाधिवेशनको नाममा महामन्त्री थापाले धमिलो पानीमा माछा मार्न खोजेका छन् । थापाले कांग्रेसको नेतृत्व कब्जा गर्न सकिन्छ की भनेर केही सञ्चारमाध्यमहरूलाई निरन्तर प्रयोग गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’, हामी नेपाल नामक एनजीओका अध्यक्ष सुधन गुरुङ, अमेरिकन संस्थाहरूसँग निकट रहेको आरोप लागेका बेला महामन्त्री थापाले कांग्रेसभित्र ठूलो विभाजन ल्याउने प्रयास गरिरहेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया