जेनजी आन्दोलनमा बालेन, गगन, सुधन र यूएसवाईसीहरूको कनेक्सन

काठमाडौं । आवरणमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भाद्र २३ र २४ गते काठमाडौंमा जेनजी युवाहरूको नेतृत्वमा भएको नेता विहीन प्रदर्शन अराजकतामा परिणत भयो । आन्दोलनकारी र भिजलान्तेहरूबाट नेताहरूलाई कुटपिट, निजी तथा सरकारी सम्पत्तिहरूमाथि लुटपाट तथा आगजनी भएको थियो । नेपालमा पछिल्ला वर्षहरूमा देखा परेका प्रदर्शनहरू र सामाजिक आन्दोलनहरूले देशको राजनीतिक चेतना, शासनप्रतिको नागरिक दृष्टिकोण र लोकतान्त्रिक अभ्यासमा नयाँ विमर्शको सुरुवात गरेका छन् । ती प्रदर्शनहरू केवल विरोधका रूपमा सीमित छैनन् बरु तिनीहरू कहाँबाट कसरी संचालन भएका छन यो हाम्रो सार्वभौम मुलुकका लागि चिन्ताको विषय बनेको छ ।

यस्ता आन्दोलनहरू कसरी, कहाँबाट र कुन प्रभावमा संचालन भइरहेका छन् भन्ने प्रश्नले अहिले हाम्रो सार्वभौमसत्ता र नीतिगत स्वतन्त्रता सम्बन्धी गम्भीर बहस उत्पन्न गरेको छ । युवा वर्गको ऊर्जा र असन्तुष्टिलाई कसरी सकारात्मक दिशातर्फ लैजाने भन्ने कुरा राज्य, राजनीतिक दल, र नागरिक समाज सबैका लागि समान चुनौती बनेको छ ।

नेपालजस्ता संवेदनशील भौगोलिक र राजनीतिक सन्दर्भ भएका देशमा सामाजिक आन्दोलनहरू स्वदेशी सन्दर्भमा आधारित हुनुपर्छ भन्ने कुरा पनि अहिलेको प्रमुख विषय बनेको छ । अन्यथा, बाह्य प्रभाव, असंगठित क्रियाकलाप, र डिजिटल प्रचारद्वारा निर्देशित आन्दोलनहरूले देशको नीति र स्थायित्वमा दीर्घकालीन असर पार्न सक्ने जोखिम रहन्छ ।

नेपालको वर्तमान सामाजिक–आर्थिक अवस्थाले युवाहरूमा निराशा र असन्तोषको भाव बढाएको भनिए पनि यसको पछाडिको कारण फरक छ । अघिल्ला दशकमा राजनीतिक आन्दोलनहरूमा युवाहरूको भूमिका विचार निर्माणकर्ता, नीति बहसकर्ता र सामाजिक प्रभावकर्ताका रूपमा हुने गर्दथे भने यस पटक डिजिटल मिडियाको गलत उपयोग, तथ्यलाई तोडमोड गरि गरिएका बहस र नेतृत्व बिहिन युवाको संलग्नताले धेरै प्रश्न उब्जाएका छन् ।

यस पटकको आन्दोलनमा विभिन्न गैर सरकारी संस्थाको प्रत्यक्ष संल्गनतामा आन्दोलनको तानाबाना बुनिएका थुप्रै प्रमाण भेटिएका छन् र आन्दोलनकारी बाटनै त्यसप्रकारको अभिव्यक्तिहरू पनि निरन्तर बाहिर आइरहेका छन् । त्यसमध्ये एउटा संस्था संयुक्त राज्य अमेरिकाको युथ काउन्सिलको पनि प्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न टिकाटिप्पणी आइरहेका छन् । त्यस संस्थाबाट दीक्षित सदस्यहरू र त्यस कार्यक्रमका प्रशिक्षकहरूको यस जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागिता मात्रै छैन बरु उनीहरूकै योजना र आयोजनामा यो आन्दोलनको पृष्ठभूमि निर्माण भएको भनेर विभिन्न बहसहरू भइराखेका छन् । उसो त यो जेनजी भन्ने नाम नै पश्चिमा परिभाषा हो जसले नेपालको ग्रामीण युवालाई प्रतिनिधित्व गर्न सक्दैन ।

बालेन, गगन, सुदन र यूएसवाईसीहरूको कनेक्सन

यूएसवाईसीले एकातिर शहर केन्द्रित एलिट वर्ग र सीमित राजनीतिक व्यक्तिलाई मात्रै स्थान दिएको देखिन्छ भने अर्कोतिर रास्वपा र नयाँ शक्ति जस्ता विचारधारालाई अति धेरै प्राथमिकता दिएको देखिन्छ । बालेनले जुन प्रकारबाट यो आन्दोलनमा अध्याँरो कोठाबाट तिर हानेका छन् । त्यो उनकै लागि प्रत्युत्पादक हुने देखिन्छ । सार्वजनिक सम्पत्ति ध्वस्त हुने बेलासम्म पनि आन्दोलनलाई शान्तपार्नको सट्टा सामाजिक संञ्जाल मार्फत उस्काउने, दमकलहरू परिचालन नगर्नु तर, आन्दोलनकारीलाई पानी वितरण गर्नु जस्ता कार्य उनले आन्दोलनलाई अराजतकतातर्फ लानको लागि सहयोगी बने, पछिल्लो समयमा त सरकारमा उनका सल्लाहकार सहभागी हुनु र मन्त्रिपरिषद् विस्तारका क्रममा आएका नामहरू बालेन, सुधन, गगन र यूएसवाईसीसंग जोडिनुले पनि उनीहरूबीचको कनेक्सनलाई पुष्टि गर्ने आधार भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको यूएसवाईसीसंगको संलग्नता पनि उत्तिकै देखिन्छ । उनले आफ्ना राजनीतिक अभिष्ट पूरा गर्न यूएसवाईसीमार्फत सक्रियता देखाएका विभिन्न प्रमाणहरूले बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संग मिलेर २०७९ सालको आम निर्वाचनमा आफ्नो क्षेत्रमा उम्मेदवार खडा नगराइनुमा पनि यूएसवाईसीको मध्यस्तता रहेको कांग्रेसवृत्तमा नै चर्चा रहेको छ । त्यसैगरी आफ्नो राजनैतिक अडानमा एकरुप नराखेर वर्तमान राजनीतिलाई दुषित पार्ने कार्यमा पनि उनले भूमिका खेलेका छन् ।

युथ ईनोभेसन ल्याबका प्रदीप खतिवडा जसले यूएसवाईसी कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् । उनको प्रत्यक्ष संलगनताले के कुरा जनाउँदछ ? बाबुराम भट्टराई जसले नयाँ शक्ति भन्दै विगत लामो समयदेखि पुराना राजनीतिक शक्तिका विरुद्धमा राजनीतिक क्रियाकलाप गर्दै छन् । त्यो कसको आडमा कुन उद्धेश्यका लागि गर्दैछन् ? उनको यूएसवाईसी संलग्नताले के कुरा दर्शाउँछ ?

नेपालमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारहरूले शिक्षा, पारदर्शिता, सुशासन र नेतृत्व विकास जस्ता क्षेत्रमा युवामुखी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस्ता पहलहरूले युवाहरूको सीप, सोंच र दृष्टिकोणमा सुदृढता ल्याएको देखिन्छ ।

तर, यस्ता कार्यक्रमहरूले सधैं राष्ट्रिय प्राथमिकता, स्थानीय आवश्यकता र स्वदेशी मूल्य प्रणालीसँग सन्तुलन कायम गर्नुपर्छ । अन्तर्राष्ट्रिय सहकार्य तब मात्र सार्थक हुन्छ जब त्यसले देशको आत्मनिर्भर र समावेशी विकासलाई सबल बनाउँछ ।

युवाहरूको ऊर्जा र असन्तुष्टिलाई कसरी सकारात्मक दिशातर्फ मोड्ने भन्ने कुरा अहिले राज्य, राजनीतिक दल, र नागरिक समाज सबैका लागि समान चुनौती बनेको छ । नेपालजस्ता संवेदनशील भौगोलिक र राजनीतिक सन्दर्भ भएका देशमा सामाजिक आन्दोलनहरू स्वदेशी सन्दर्भमा आधारित हुनुपर्छ भन्ने विषय अहिले विशेष महत्वको बनेको छ । अन्यथा, बाह्य प्रभाव, असंगठित गतिविधि र डिजिटल प्रचारद्वारा निर्देशित आन्दोलनहरूले देशको नीति र स्थायित्वमा दीर्घकालीन असर पार्न सक्छ ।

Published : Sunday, 2025 October 12, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया