विवाद नगरेर सहमतिको प्रस्ताव लैजानुस्, मेरो समर्थन छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सहमतिका साथ प्रस्तावहरू लैजान सभापति शेरबहादुर देउवाले दुई दिनका लागि बैठक स्थगित गरेको नेताहरूले बताएका छन् ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सहमतिका साथ प्रस्तावहरू लैजाने बताए । मुलुकको पछिल्लो राजनीतिक अवस्थामा कांग्रेसलाई एक बनाएर लैजान सहमतिको प्रस्ताव बनाउन सभापति देउवाले निर्देशन दिएको डा.महतले बताए ।

सभापति देउवाले सहमतिको प्रस्ताव बनाएर केन्द्रीय कार्यसमितिमा पेश गर्न आग्रह गर्दै आफ्नो सहयोग रहने सन्देश दिएका छन् । देउवाले यसअघि नै कांग्रेसको नेतृत्वमा आफू नदोहरिने बताइसकेका छन् । उनीहरूले नेताहरूलाई मिलेर कांग्रेस चलाउन भनिसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवा र उनकी पत्नी डा.आरजु राणालाई हत्या गर्ने उद्देश्यले घरमा बसेका बेला सांघातिक आक्रमण गरेको थियो । आक्रमणपछि सभापति देउवा र नेतृ डा.राणा गम्भीर अवस्थामा पुगेका थिए ।

अहिलेको राजनीतिक तरलताको अवस्थामा संयम बनेर जान र कांग्रेसबाट एकताको सन्देश दिनुपर्ने सभापति देउवाको इच्छाअनुसार नेताहरूले सहमतिको प्रस्ताव बनाउन लागेका छन् ।

महामन्त्री गगन थापाले विशेष महाधिवेशन भनेर हस्ताक्षर अभियान चलाएका छन् । दुई महिनापछि नियमित महाधिवेशनको समय आउँदैछ । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।

सभापति देउवाले पार्टीका केही शीर्ष नेताहरूसँग आन्तरिक छलफलहरू पनि गरेका छन् । देउवाको आग्रहमा नेताहरूले चुनावी रणनीतिका साथ १५औँ महाधिवेशनबारे उपयुक्त निर्णय गर्नेछन् ।

Published : Sunday, 2025 October 12, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया