गगनले आफ्नो हैसियत थाहा पाए, विशेष महाधिवेशनबाट पछाडि हटे, आलोचना भएपछि विश्व रिसाए
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानबाट पछाडि हटेका छन् ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा धारणा राख्ने क्रममा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गर्ने आफूहरूको पूर्वअडानबाट पछाडि हटेका हुन् । उनीहरूले विशेष महाधिवेशन वा नियमित महाधिवेशन जे गर्दा पनि आफूहरूलाई मान्य हुने धारणा राखेको स्रोतले जनाएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले असोज २६ गतेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाविधेशनको निर्णय गर्ने बताए ।
नेता डा.शशांक कोइरालाले महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव राखेको बताए । बैठकबाट बाहिरिने क्रममा डा.कोइरालाले पार्टीमा विशेष महाधिवेशनको विषय सकिएको बताए । महामन्त्री थापाले नै बैठकमा नियमित महाधिवेशनको प्रस्ताव गरेको भन्दै डा.कोइरालाले विशेष महाधिवेशनको चर्चा व्यर्थ रहेको बताए ।
बैठकमा धारणा राख्ने क्रममा माहमन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनबाट ब्याक भएको संकेतसहित विशेष वा नियमित महाधिवेशन जुनमा पनि जान सकिने बताएका थिए । त्यसपछि सहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशनका लागि हस्ताक्षर भइरहेको भन्दै दुईमध्ये एक बिकल्पमा जान सकिने धारणा राखेका छन् ।
महामन्त्री थापाका ससुरा समेत रहेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन नै गर्नुपर्ने भनेर जोडदार रुपमा कुरा राखेका थिए ।
सहमहामन्त्री जीवन परियारले दिएको अभिव्यक्तिबारे एक पदाधिकारीले भने, ‘जीवनजीले विशेष महाधिवेशनको कुरा पनि उठाउनुभयो । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान भइरहेको छभन्नुभयो । उहाँले नियमित महाधिवेशनमा पनि जान सकिने भन्नुभयो । म्याद सकिन लागेको छभने नियमित महाधिवेशन गर्दा पनि हुन्छ ।’
परियारले पुस महिनामा निर्वाचन आयोगमा दल दर्ता गर्नु पर्ने प्राविधिक बाध्यताका विषयमा पनि जानकारी गराएका छन् । ‘मंसिर मसान्तभित्र दल महाधिवेशन गर्ने हो भने पनि दल दर्ता गर्नै पर्ने हुन्छ । केही समय दुई÷चार महिना बढाउन सकिन्छ । नियमित महाविधेशनको म्याद थप गर्न सकिन्छ,’ स्रोतले भन्यो ।
स्रोतले भन्यो, ‘दुई वटा कुरा आइरहेको छ । विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने ? नियमित भनेर त्यही समयभित्र नियमित पनि हुन सक्छ । नियमित गर्ने हो भने विशेषको के मतलब भयो त ? नियमित महाधिवेशन गर्ने हो भने त्यही समयभित्र कसरी गर्ने ? म्याद थप गर्ने की के गर्ने ? सबैले धारणा राखेका छन् ।’
‘चुनावमा जाने कुरामा सबैको मत आइरहेको छ । चुनाव घोषणा भइसकेको छ । कसरी जाने भन्ने विषयमा आआफ्नो धारणा राखेका छन् । निर्वाचन आयोगले कार्यतालिका घोषणा गरेको छ,’ ती पदाधिकारीले भने ।
‘विशेष महाधिवेशन नगर्ने हो भने नियमित नै गरौँ । समयभित्र गर्ने भन्ने कुरा गगन थापाले राख्नुभएको छ । विशेष महाधिवेशन पनि गर्न सकिन्छ । सकियो भने नियमित पनि गर्न सकिन्छ । नियमित त्यही समयभित्र गर्न सकिन्छ,’ स्रोतले भन्यो ।
सहमहामन्त्री उमाकान्त चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पदीय जिम्मेवारी विपरित विशेष महाधिवेशनका लागि हस्ताक्षर गराउँदै हिँडेको भन्दै आलोचना गरेका थिए । सहमहामन्त्री चौधरीको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने, ‘महामन्त्री भएर तपाईहरूले जथाभावी बोल्न मिल्छ ? (चौधरीले आलोचना गरेपछि विश्वप्रकाश शर्मा रिसाएका थिए) असोज २४ गतेभित्र साइन गर भनेर भन्न मिल्छ ? तपाईले पदीय जिम्मेवारी र नैतिकताका कारण बोल्नै मिल्दैन । तपाई र हामी निर्णायक ठाउँमा छौँ ।’
‘अरुले न्याय माग्न आउने केन्द्रीय समितिमा हो । केन्द्रीय समितिले निर्णय गर्न सक्छ । विशेष महाधिवेशन होस् वा नियमित महाधिवेशन । महामन्त्रीको हैसियतले हस्ताक्षर गर भन्न मिल्दैन । नैतिकताले पनि बोल्न मिल्दैन । कसैले साइन गरेर ल्यायो भने हामीले निर्णय गर्न मिल्छ । निर्णायका निकायमा बसेको हामीले नै तैले लेखेर लिएर आइज हामीले निर्णय गर्छु भनेर भन्न मिल्छ ?,’ चौधरीलाई उदृत गर्दै एक पदाधिकारीले भने ।
‘गगनजीको पनि वक्तव्य आउँछ । महामन्त्रीको रुपमा बोलेको छैन भन्नु हुन्छ । तपाई पार्टीको महामन्त्री हो । तपाईले बोलेको कुरा पार्टीले बोलेको हो । तपाई हामी भनेको निर्णायक ठाउँमा हो । पार्टी चलाउने सभापतिले होइन । आज महासमितिले गरेको निर्णय होस् की पार्टीले गरेको निर्णय होस् कार्यान्वयन गर्ने जिम्मा दुई वटा महामन्त्रीको हो । त्यो कार्यान्वयन गर्न सकेनन् भने नैतिकताको आधारमा जिम्मा लिने कि नलिने ? सहमहामन्त्रीको रुपमा मैले पनि कति जिम्मेवारी लिनुपर्छ म पनि लिउँला,’ सहमहामन्त्री चौधरीले महामन्त्रीद्वय थापा र शर्मालाई साफससँग झपार्दै पदीय हैसियत स्मरण गराएको स्रोतले भन्यो ।
चौधरीले विशेष महाधिवेशनको पक्षमा नरहेको बरु नियमित महाधिवेशनलाई समयमा गर्न प्रस्ताव राखेका छन् ।
‘नियमित गरौँ मंसिर महिनाभित्रै गरौँ । महामन्त्रीहरू भन्नु हुन्छ, तैले साइन गर । जसले साइन गरेन त्यो त दुई जना महामन्त्रीको दुश्मन भयो नि त । साइन गर्दा महामन्त्रीको सबैभन्दा नजिकको मान्छे भयो । तपाईहरूले डिभाइड गरिरहनु भएको छ,’ स्रोतले भन्यो ।
‘जसले साइन गरे तपाईको नजिकका भए । मान्छेले के सोँच्छ भोलि पार्टी सभापति यही बन्ने हो, टिकट बाँड्ने यसैले हो । फलानोले दिन्छ, फलानोले दिँदैन । झन् अहिलेदेखि नै पार्टीभित्र द्वन्द्व भयो । पार्टी एकता गर्ने काम गरौं । पार्टी सभापतिलाई तपाईहरूले भेट पनि गरिरहनु भएको छ । अहिले कांग्रेसले निकास दिने हो,’ स्रोतले भनेको छ ।
स्रोतले भन्यो, ‘उमाकान्त चौधरीजीले भदौ २४ गतेको घटना छानविन हुनुहुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । यो सरकारले शान्ति सुरक्षाको विषयमा के गर्छ ? प्रहरीहरूको मनोवल खसेको छ । कुनै हालतमा चुनावमा जानुपर्छ । चुनावको तयारीका लागि सन्देश दिनुपर्छ । हाम्रो कारणले चुनावबाट भाग्यो भन्ने सन्देश पनि दिनु हुँदैन । संकटको बेला कांग्रेसले मात्रै निकास दिएको छ । अहिले लोकतन्त्र, संविधान र पार्टी जोगाउनका लागि ठूलो निर्णय गरेर जानुपर्छ । कांग्रेसले के निर्णय गर्छ भनेर देशभरिका जनताले हेरेका छन् । कांग्रेस पहिला एकढिक्का हुनुपर्छ ।’
बैठकमा महामन्त्री शर्माले विशेष महाधिवेशनको बारेमा केही बोलेका थिएनन् । शर्माको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सबै मिलेर एजेण्डा तय गर्ने हो । एउटा निर्वाचनको कुरा, अर्को पार्टीभित्रको कुरा । त्यो समयभित्र गर्न सकिएन भने म्याद थप गर्नुपर्ने हुन्छ ।’
‘म्याद थप भएन भने त्योभित्र कसरी गर्न सकिन्छ । त्यो गर्नका लागि बिगतमा क्रियाशील सदस्यता नवीकरणको कुरा पनि उठेको छ । धेरै पार्टी कार्यालयहरू जलेर ध्वस्त पनि भएका छन् । यसलाई पनि कसरी मिलाउन सकिन्छ भनेर छलफल भएको छ । एजेण्डा तय भएको छैन । सबैले धारणा राखेका छन्,’ शर्माले राखेका धारणा उदृत गर्दै स्रोतले भन्यो ।
नेता डा.शेखर कोइरालाले नियमित महाधिवेशन समयमा गर्नका लागि आग्रह गरेका छन् । डा.कोइरालालाई उदृत गर्दै स्रोतले भन्यो, ‘विशेष महाधिवेशन होस् वा नियमित महाधिवेशन होस् । मंसिरभित्रै गरौँ । चुनावमा जानुपर्छ । संसद पुनर्स्थापना भोलि अदालतले के गर्ला ? त्यो पछिको कुरा हो । पहिलो अप्सन भनेको हामी चुनावमा जाऔँ । त्यसपछि एउटा परिस्थिति निर्माण हुन सक्छ ।’
‘अहिलेको सरकार, जेनजीको आन्दोलन, भदौ २३ गतेको जेनजीको आन्दोलन भने पनि भदौ २४ गतेको आन्दोलन जेनजीको आन्दोलन होइन । त्यो आतंक, प्रयोजित, हिंसात्मक घटना हो । यो सरकारले शान्ति सुरक्षाको विषयमा के गर्छ ? प्रहरीहरूको मनोवल खसेको छ । यो सरकारलाई अन्तर्राष्ट्रिय जगतले पनि बधाइ दिएको छ । भदौ २१ गते चुनाव हुन सकेन भने नयाँ परिस्थिति पनि आउन सक्छ । वा अन्य जे पनि हुन सक्छ,’ डा.कोइरालाले भनेका छन् ।
बैठकमा ९÷१० जना पदाधिकारीले धारणा राखेका छन् । बोल्न बाँकी अरुले पदाधिकारीले शुक्रबार धारणा राख्नेछन् । महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री परियार र केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी बाहेक धारणा राख्ने सबैले विशेष महाधिवेशनको विपक्षमा बोलेका थिए । उनीहरूले नियमित महाधिवेशन र निर्वाचनमा जान तथा कांग्रेसले मुलुकलाई निकास दिने गरी नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका छन् ।
सभापति शेरबहादुर देउवा पदाधिकारी बैठकमा स्वास्थ्यका कारण उपस्थित भएनन् । बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । सभापति देउवा र नेतृ डा.आरजु राणाको ज्यान लिने गरी भदौ २४ गते भएको हिंसाको घटनाका बारेमा अधिकांश नेताहरूले निन्दा एवम् भर्र्सना गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया