गगन–विश्वको हस्ताक्षर अभियानले कांग्रेसलाई फुटाउने, चिन्तित बने पदाधिकारी र केन्द्रीय नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरुप आन्तरिक छलफल गरेका छन् ।

बिहीबार बिहान काठमाडौंमा नेता सिटौलाको निवासमा उपसभापति खड्कासहितका केन्द्रीय सदस्य र नेताहरूको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको हस्ताक्षर अभियानप्रति गम्भीर चासो र चिन्ता जनाएको छ । उनीहरूले महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग गरेर चलाएको हस्ताक्षर अभियानले पार्टी फुटसम्म जान सक्ने चेतावनी दिएका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका केही नेताहरू विशेष महाधिवेशनको बहाना बनाएर कांग्रेसलाई बिभाजन गर्ने वा चोइटिएर जाने तयारी गरेको आरोप लागेका बेला नेताहरूको बैठक बसेको छ ।

बैठकलाई सम्बोधान गर्दै नेता सिटौलाले महामन्त्रीद्वय थापा र शर्माको हस्ताक्षर अभियान उचित नरहेको बताए । उनले भने, ‘हस्ताक्षर अभियान चलाइरहेका छन् महामन्त्रीजीहरूले । हस्ताक्षर अभियानले यो पार्टीलाई फुट्ने अवस्थासम्म लैजान सक्छ ।’

‘हस्ताक्षर गर्ने र नगर्ने भइसकेपछि त समस्या हुन्छ । त्यसै त हाम्रो पार्टी चुनावमा अन्तरघात हुन्छ,’ नेता सिटौलाले भने । उनले पार्टीभित्र आगो नलगाउन महामन्त्रीद्वय थापा र शर्मालाई सुझाव दिएका छन् ।

सिटौलाले भने, ‘सिंहदरबारमा आगो लाग्यो । सर्वोच्चमा आगो लाग्यो । घरमा आगो लाग्यो । पार्टीमा आगो लाग्यो । संगठनमा पनि आगो लाग्छ । कम्तिमा संगठनमा आगो लगाउने काम हामी कसैले नगरौँ भन्ने आशयमा छु ।’

बैठकमा नेताहरू मीन विश्वकर्मा, उदयशम्शेर जबरा, योगन्द्र चौधरी, कुन्दनराज काफ्ले, पुष्पा भुसाल, गुरु बराल, अब्दुल सतार लगायतको उपस्थिति रहेको थियो ।

जेनजी आन्दोलनको मौका छापेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका छन् । उनीहरूको हस्ताक्षर अभियान कांग्रेसलाई बलियो बनाउनेभन्दा पनि कांग्रेस पार्टीभित्र विदेशी शक्तिहरूको चाहना बमोजिम विभाजनको बिजारोपण गर्न लागेको भन्दै चिन्ता बढेका बेला सिटौलासहितका नेताहरूले गम्भीर चासो देखाएका छन् ।

Published : Thursday, 2025 October 9, 2:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया