जिम्मेवारी लिएर महामन्त्री थापाले क्रियाशील विवादमा सिन्को भाँच्न सकेनन्, दोष सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिन्को पनि भाँच्न सकेको छैन ।

बुधबार काठमाडौंमा बसेको समितिको बैठकमा महामन्त्री थापाले सदस्यहरूसँग छलफल गरे पनि कुनै निर्णय गर्न सकेनन् । विभिन्न जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद छ । त्यो विवादलाई समाधान गर्न केन्द्रीय कार्यसमितिले महामन्त्री थापालाई संयोजक बनाएर जिम्मेवारी दिएको थियो ।

महामन्त्री थापाले क्रियाशील सदस्यता विवाद र समस्याहरूमा समाधान निकाल्न सकेका छैनन् । विवाद र समस्या समाधान गर्न छाडेर महामन्त्री थापा कांग्रेसको विशेष महाधिवेशन भन्दै हस्ताक्षर अभियानमा लागेका छन् । थापाको हस्ताक्षर अभियानले पनि हावा खाइसकेको छ ।

क्रियाशील सदस्यता विवाद र समस्या समाधानमा भएका अहिलेसम्मको प्रगतिलाई समेटेर महामन्त्री थापामा झारा टार्ने गरी प्रतिवेदन बनाइ असोज २६ गते बस्ने कार्यसमिति बैठकमा पेस गर्ने तयारी गरेको एक सदस्यले बताएका छन् ।

महामन्त्री थापाले क्रियाशील सदस्यताको समस्यालाई टुंगाउन नसकेपछि त्यसको दोषी जेनजी आन्दोलनको टाउकोमा थुपारेर प्रतिवेदन बनाउन लागेका छन् । जेनजी आन्दोलनका क्रममा पार्टीका ४० भन्दा बढी जिल्ला कार्यालय र केन्द्रीय कार्यालय जलेको विषयमा थापाले छलफल गरेका छन् ।

महामन्त्री थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाईली सदस्य छन् ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा दुई महिनापछि हुन लागेको कांग्रेसको नियमित १५औँ महाधिवेशनलाई ढाकछोप गरेर जेनजी आन्दोलनको बहाना बनाइ विशेष महाधिवेशनका लागि हतार गरेर हस्ताक्षर अभियान चलाएका छन् । उनीहरूको हस्ताक्षर अभियान बीच बाटोमा तुहिएको छ ।

महामन्त्री थापाले क्रियाशील सदस्यताको विवाद र समस्यालाई समयमा टुंगाउन सकेका छैनन् । क्रियाशील सदस्यता नटुंग्याएर थापाले विशेष महाधिवेशनको माग गरेका छन् । आफ्नो जिम्मेवारी समयमा पूरा नगर्ने, दोष सबै सभापति शेरबहादुर देउवालाई मात्रै दिने प्रवृत्ति दुई महामन्त्री थापा र शर्मामा मौलाएको भन्दै आलोचना भइरहेका छन् ।

Published : Wednesday, 2025 October 8, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया