ओली लगायतको राहदानी रोक्काको सिफारिसको एमालेद्वारा विरोध, मिडिया ट्रायल नगर्न चेतावनी
काठमाडौं । एमालेले अध्यक्ष केपी ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गर्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार भक्तपुरबो गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बसेको एमालेको पोलिटब्यूरो बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।’
‘यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ,’ एमालेले भनेको छ, ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।’
एमालेले भनेको छ, ‘हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ,’ एमालेले भनेको छ ।

एमालेले समग्र मुलुकको अवस्थाका बारेमा छलफल गरी रणनीति बनाउने केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंमा बस्नेछ । त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया