जेनजीलाई सम्झाउँदै ओलीले खोले सुशीला सरकारमाथि फायर, दिए एक ईञ्च पनि नझुक्ने चेतावनी

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् ।

शनिबार युवा संघ नेपालले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘जेनजी घरैपिच्छे छन् । घरघरमै छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ । केहीलाई गुमराहमा राखिएको छ ।’

ओलीले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’

उनले आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गरेका छन् । ‘तपाईंहरू आवेगमा आउने होइन,’ ओलीको सुझाव छ ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् । ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।

‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,’ ओलीले भने, ‘पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’

ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने बताएका छन् । ‘हामीले यो देश बनाउनुपर्नेछ, फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौं,’ उनले भने ।

ओलीले सरकाले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताएका छन् । ओलीले आफ्नो निजी घरको लोकसेन ट्रयाक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔं भनेर देखाइएको छ । घर तोकिएको छ । सरकार के हेरेर बसेको छ ?,’ ओलीको प्रश्न छ ।

उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरेका छन् ।

‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?,’ ओलीले भने ।

‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?,’ एमाले अध्यक्ष ओलीले भने । उनले मौसम पनि सधैं एकनास नहुने बताउँदै फेरि मुसुक्क हाँस्ने बताए ।

‘खैर म भन्न चाहन्छु, मौसम पनि सधैं एकनास हुँदैन । फेरि मुसुक्क हाँस्छ । झरी बादलको समय आयो भनेर फेरि मुसुक्क हाँस्छ,’ उनले भने ।

Published : Saturday, 2025 September 27, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया