चुनावभन्दा प्रतिशोधतिर जान लागेपछि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साङपाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।

जेनजी पुस्ताको माग अनुसारको काम नगरेको भन्दै शुक्रबार सामाजिक सञ्जालमार्फत मेयर राईले कार्कीसँग प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका हुन् । सुशीला सरकारले जेनजी आन्दोलनको मागभन्दा बाहिर गएर गतिविधि गरिरहेका बेला राजीनामाको माग आएको छ । प्रधानमन्त्री बनेको दुई हप्तामा सुशीला कार्कीको राजीनामा माग भएको छ ।

‘सुशीला जी… तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नु भएन । राजीनामा दिनुस् । म गर्छु उनीहरूको माग पूरा एक एक गरेर,’ मेयर राईले भनेका छन् ।

सुशीला सरकारले प्रमुख राजनीतिक दलहरूसँग प्रतिशोध साँध्न थालेका छन् । दल र तिनका नेताहरूको चरित्रहत्या हुने गरेर प्रधानमन्त्री कार्की र मन्त्रीहरूले अभिव्यक्ति दिन थालेका छन् ।

जेनजी पुस्ताको आन्दोलनको माग भ्रष्टाचार नियन्त्रण र सुशासनको थियो । यो मागभन्दा बाहिर गएर गृहमन्त्री ओमप्रकाश अर्यालले गतिविधि गर्न थालेका छन् । अन्तरिम सरकारले सबैभन्दा पहिला निर्वाचन गराउनुपर्छ । निर्वाचन गराउन आवश्यक पर्ने वातावरण बनाउनेभन्दा पनि राजनीतिक दलहरू र जेनजी पुस्तालाई चिढ्याउने गरेर सुशीला सरकारले कार्य गरेको मेयर राईको आरोप छ ।

Published : Saturday, 2025 September 27, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया