हामी ठूलो ग्राइण्ड डिजाइनमा पर्‍यौं, आक्रमणको शैली, ध्वंसको शैली सबै ठाउँ एउटै : कांग्रेस

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी पुस्ताको माग र आन्दोलन शान्तिपूर्ण रहेको भन्दै बिध्वंसकारीहरू आन्दोलनमा प्रवेश गरेर हिंसात्मक बनाएको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा गरेर पूर्वगृहमन्त्री समेत रहेका खड्काले भदौ २३ गतेको आन्दोलनमा घुसपैठ हुनेवित्तिकै जेनजी पुस्ताका भाइबहिनीहरूले विज्ञप्ति जारी गरेर फिर्ता भएको बताए । उनले शान्तिपूर्ण जेनजीको प्रदर्शनमा बिध्वंसकारीहरूले घुसपैठ गरेको बताए ।

उनले भने, ‘जेनजी पुस्ताहरूको आन्दोलनको परिवेश र शुरुवात गर्दा वहाँहरूले राखेका मागहरू हामी सबैलाई थाहा छ । वहाँहरूको ३ वटा कुरा थियो । मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, त्यसको रिजल्ट र कारबाही । सुशासन कायम हुनुपर्छ । बन्द रहेका सामाजिक सञ्जालहरू सरकारले तत्काल खोल्नुपर्छ । वहाँहरूले यही ३ वटा माग राखेर पवित्र मनले मुलुकको शासनमा भएका विकृतिहरूलाई सुधारको अभियानसहित अगाडि आउनुभएको थियो ।’

‘पहिलो दिनेको आन्दोलन शान्तिपूर्ण गर्छौं भनेर आफैले घोषणा गर्नुभएको थियो । आन्दोलन हिंसात्मक भएपछि हामी फर्किन्छौँ भनेर विज्ञप्ति नै जारी गर्नुभयो,’ नेता खड्काले भने ।

‘आन्दोलनका क्रममा बिध्वंसकारीहरूको ठूलो घुसपैठ भयो । घटनाक्रमले त्यह देखाउँछ । भाइबहिनी युवाहरूको जीवन गयो । देशले ईतिहाँसमा कहिल्यै व्यहोर्नु नपरेको ध्वंसको शिकार हुन गयो । यसमा सामान्य तरिकाको देखिदैन,’ उपसभापति खड्काले भने ।

‘आक्रमणको शैली, ध्वंसको शैली लगभग सबै ठाउँ एउटै । खाली कहाँ कति जनाको प्रयोग गर्ने ? कहाँ कुन कुन तहको ध्वंसात्मक हतियारहरू, बिष्फोटक पदार्थहरू, केमिकलहरू, बमहरू ती सबै कुराले के देखिन्छ भने धेरै लामो समयदेखिको तयारी, हजारौँ मानिसलाई हायर गरेर ठूलो तयारीसहित नेपालको राज्यमाथि नै ठूलो ध्वंस गर्ने नियतसाथ यो सबै कुरा भएको घटनाक्रमले र विशेष गरी भदौ २४ गतेको घटना सम्पूर्ण रुपमा ४ घण्टाको अवधिमा सिङ्गो देश जलाइएको छ,’ पूर्वगृहमन्त्री समेत रहेका उपसभापति खड्काले भने ।

‘देशको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सम्पूर्णकुरा ध्वस्त पारिएको छ । सबै दलका पार्टी कार्यालयहरू, दलका नेताहरूको परिवारका सम्पूर्ण सम्पत्तिहरू ध्वंस पारिएको छ । व्यवसायीहरूको सम्पत्ति ध्वंस पारिएको छ । यसको जति निन्दा गरे पनि पुग्दैन,’ उनले भने ।

‘हामी ठूलो ग्राइण्ड डिजाइनमा पर्‍यौं । के देखिन्छ भने परिदृष्यले हामी नेपाली, हाम्रो नेपाल देश डरलाग्दो डिजाइनभित्र परेका छौँ । यसको सरकारले छानविन आयोग गठन गरेको छ । छानविन आयोगले सबै कुरा छानविन गर्ला । छानविन आयोगले प्रतिवेदन नल्याउँदासम्म आफूलाई लागेको कुरा भनि हाल्नु हुँदैन,’ खड्काले भने ।

‘जेनजी आन्दोलनमा घुसपैठ गरेर त्यो आन्दोलनलाई कब्जा गरेको छ । खर्बौंको राज्यको सम्पत्ति, व्यापारी, व्यक्तिको सम्पत्ति खोजीखोजी ध्वंस गरिएको छ । सरकारले छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ,’ कांग्रेस उपसभापति खड्काले भने ।

Published : Thursday, 2025 September 25, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया