सुदूरपश्चिम कांग्रेसले भन्यो– गगन र विश्वको गतिविधिले पार्टीलाई कमजोर बनायो
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकका नेताहरूले विशेष महाधिवेशनको नाममा भइरहेको हस्ताक्षर संकलनले पार्टी कमजोर हुने बताएका छन् ।
बुधबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारमा मन्त्री, जिल्ला सभापति, प्रदेश सभा सदस्य, प्रदेश तथा जिल्लाका पदाधिकारीबीच भएको छलफलमा विशेष महाधिवेशनले कांग्रेसलाई विभाजनतिर लैजाने बताए । उनीहरूले पार्टीभित्र एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्रै होइन, लोकतन्त्र नै समाप्त हुने बताएका छन् ।
सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणालाई जेनजी आन्दोलनको नाममा घुसपैठ गरेर केही उत्तेजित व्यक्तिहरूले हत्याको प्रयास गरेका थिए । ती व्यक्तिहरूको आक्रमणबाट सभापति देउवा उपचारत छन् । देउवा गम्भीर अवस्थामा रहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मानवीय समवेदनाको समेत बेवास्ता गरेर विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर अभियान चलाएपछि कांग्रेसलाई विभाजन गर्ने गतिविधि भनेर टिप्पणी भएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्रै होइन, लोकतन्त्र नै समाप्त हुने भएकाले सबै साथीहरू सचेत, सजग रहन अपील गर्दछौं ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै महाधिवेशनप्रतिनिधिहरूबीच हस्ताक्षर अभियान सुरु गरेका बेला सुदूरपश्चिम कांग्रेसले पार्टीलाई कमजोर बनाउने प्रयास भएको जनाएको छ ।
गगन थापा निकटका नेता गुरुराज घिमिरेसहितको टिम हस्ताक्षर अभियानमा जुटेका छन् । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्न सकिने प्रावधान रहेको छ ।
छलफलमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्यहरू सुशीला मिश्र, नृपबहादुर वड, सुदूरका मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, कांग्रेस कैलालीका जिल्ला सभापति एवं राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, कांग्रेस कञ्चनपुरका जिल्ला सभापति पदम बोगटीलगायत २३ जनाको उपस्थिति रहेको थियो ।
छलफलले राष्ट्रिय राजनीतिको निकासको सन्दर्भमा वर्तमान संविधानभित्रबाटै राजनीतिक दल, सरकार र जेन–जी युवाहरुबीच राष्ट्रिय सहमति गर्नुपर्ने, प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने, पुनर्स्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरिनुपर्ने, संशोधित संविधानमा टेकी आम निर्वाचन गरिनुपर्नेलगायतको माग अगाडि सारेको छ ।
जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको आक्रमणको भर्त्सनासमेत गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया