उपसभापति र महामन्त्रीसँग डा.कोइरालाद्वारा भेट, सम्पर्क कार्यालयमा गगन गएनन्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग नेता डा.शेखर कोइरालाले भेट गरेका छन् ।

बुधबार काठमाडौंमा उपसभापति खड्का र महामन्त्री थापासँग डा.कोइरालाले अलग अलग भेट गरेका हुन् । डा.कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भेट्न उपसभापति खड्का आफै पुगेको स्रोतले जनाएको छ ।

महामन्त्री थापा भने डा.कोइरालासँग भेट्न उनको सम्पर्क कार्यालय बालुवाटारमा गएनन् । डा.कोइराला र महामन्त्री थापाबीच काठमाडौंको कुनै अज्ञात स्थानमा भेटवार्ता भएको छ ।

भेटमा जेनजी पुस्ताको आन्दोलन र क्षतिका विषयमा उनीहरूबीच छलफल भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको विशेष महाधिवेशन माग गरिरहेको विषयमा उनीहरूका बीच छलफल भएको बुझिएको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवालाई हटाएर कांग्रेसको नेतृत्व हत्याउन धमिलो पानीमा माछा मार्न खोजेका छन् । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई केही उत्तेजित समूहले निवासमा प्रवेश गरेर हत्याको प्रयास गरेका छ । सभापति देउवा गम्भीर अवस्थामा उपचाररत छन् । सभापति देउवासँग उनकी पत्नी समेत रहेकी कांग्रेस नेतृ डा.आरजु राणा पनि गम्भीर अवस्थामा उपचाररत छिन् ।

यस्तो अवस्थामा महामन्त्री थापा र शर्माले मानवीय समवेदना बेवास्ता गर्दै कांग्रेसको नेतृत्व हत्याउन षड्यन्त्र गरिरहेका छन् । आवश्यक पर्दा महामन्त्रीद्वय थापा र शर्माले पार्टी विभाजन गरेर जानेसम्मको तयारी गरिरहेको आरोप लागेका बेला नेता डा.कोइरालाले खड्का र थापासँग अलग अगल भेट गरेर सहमतिको प्रयास गरेका छन् ।

Published : Wednesday, 2025 September 24, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया