सभापति देउवा उपचारमा रहेका बेला विशेष महाधिवेशन माग गर्नु दुर्भाग्यपूर्ण : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस सामाजिक सञ्जालले चलेको पार्टी नभएर कार्यकर्ताको भावना र एकताले चलेको रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस गुल्मी– काठमाडौं सम्पर्क समितिले विजया दशमी २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष गुरुङले कांग्रेसको संगठनको जरा कमजोर नरहेको बताए । उनले भने, ‘गाउँका कार्यकर्तासँग कांग्रेस भावना र एकताले जोडिएको छ । कांग्रेस सामाजिक सञ्जालमा भनिए जस्तो कमजोर छैन ।’
उनले भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनप्रति तरुणहरू गम्भीर रहेको बताए । अध्यक्ष गुरुङले प्रश्न गर्दै भने, ‘के यो आन्दोलनबाट तपाईहरूको माग पूरा भयो त ? राज्यको संरचनाहरू जलाइएका छन्, भत्काइएका छन्, के यहि तपाईहरूको उपलव्धि हो ? खोइ त जेनजी युवाहरूको सरकारमा प्रतिनिधित्व ?’
तरुण अध्यक्ष गुरुङले जेनजी आन्दोलनको नाममा अपराधिक मानसिकता भएका केही व्यक्तिबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या गर्ने उद्देशयले सांघातिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । उनले सभापति देउवा र केन्द्रीय सदस्य डा.राणा स्वास्थ्य उपचारमा रहेका बेला विशेष महाधिवेशनको माग हुनु दुर्भाग्य रहेको बताए । उनले भने, ‘देउवा दम्पत्तिको स्वास्थ्य अवस्थामा कांग्रेस केन्द्रीय समितिको बैठकमा घटनाको बारेमा बोल्नु पर्ने थियो । सभापति देउवा र डा.राणाले बैठकमा बोल्न पाउनु अगाडि नै विशेष महाधिवेशनको माग हामी सबैको लागि दुर्भाग्यको विषय हो ।’
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र के.सी., सम्पर्क समितिका सभापति कृष्ण खरेल लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया