कांग्रेसका प्रभावशाली नेताहरूको बैठक, महामन्त्रीद्वय गगन–विश्वबारे समीक्षा

काठमाडौं । नेपाली कांग्रेसका पाँच जना प्रभावशाली नेताहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल गरेका छन् ।

आइतबार ठमेलको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा ५ नेताहरूबीच छलफल भएको हो । उनीहरूले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गरेका छन् ।

संविधानको रक्षा गर्दै संविधानभित्रैबाट निकास खोजेर निर्वाचनमा जानुपर्ने विषयमा उनीहरूले छलफल गरेका हुन् । जेनजीको आन्दोलनको मागका विषयमा पनि नेताहरू छलफल गरेका छन् ।

जेनजी आन्दोलनको बहानामा दुषित भावना बोकेका तत्वहरूका विषयमा पनि नेताहरूबीच छलफल भएको छ । जेनजी पुस्ताको आन्दोलन शान्तिपूर्ण रहे पनि घुसपैठ भएर हिंसात्मक बनाएको कांग्रेस नेताहरूको ठहर छ ।

सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणाको स्वास्थ्य लाभको कामना पनि नेताहरूले गरेका छन् । भदौ २४ गते घुसपैठ समूहबाट सभापति देउवा र नेतृ डा.राणाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । देउवा दम्पत्ति उपचाररत छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको बहाना बनाएर कांग्रेसभित्र धमिलो पानीमा माछामारेर नेतृत्व हत्याउन षड्यन्त्र गरिरहेका बेला कांग्रेसका ५ प्रभावशाली नेताहरूको बैठक बसेको छ ।

बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइराला र डा.प्रकाशशरण महतको उपस्थिति रहेको थियो । उनीहरूले मुलुक चुनावतिर जान लागेका बेला बेमौसमको कुरा उठाएको भन्दै महामन्त्रीद्वय थापा र शर्माको आलोचना समेत गरेका छन् ।

Published : Sunday, 2025 September 21, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया