गगन-विश्वले धमिलो पानीमा माछामार्न खोजेपछि डा.महतले भने– उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व हत्याउन धमिलो पानीमा माछामार्न खोजेपछि आक्रोश व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा.महतले भने, ‘हाम्रो सभापति लोकतन्त्रको लामो लडाइँ लड्नुभयो । उहाँमाथि त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवार साथीहरु आक्रमण भएको उपचार पूर्ण नभएको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुःखको कुरा हो ।’
भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला जेनजी आन्दोलनको बहानामा हत्या गर्ने उद्देश्यले सभापति शेरबहादुर देउवा र उनकी श्रीमती एवम् केन्द्रीय सदस्य डा.आरजु राणामाथि सांघातिक आक्रमण भएको छ । घर जलाइएको छ । देउवा दम्पत्ति उपचाररत छन् । यस्तो अवस्थामा महामन्त्रीद्वय थापा र शर्माले धमिलो पानीमा माछामार्न खोज्दै कांग्रेसको नेतृत्व हत्याउन खोजेका छन् ।
उनले भने, ‘आलो घाउ ठीक नहुँदै सुरु भएको बहसप्रति गम्भीर छौँ । अहिले एक हुने बेला हो । एक भएर कमी कमजोरी पनि हटाउन सकिँदैन र ? जुन बेलामा घाउ लागेको छ, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो ।’
‘भदौ २३ गतेको चारदिन अघिसम्म त्यही सभापति अत्यन्त ठीक हुने । हामी त बरु अलि टाढा लागौँला । जुन साथीहरूले अहिले प्रश्न उठाउनुभएको छ,’ डा.महतले भने, ‘नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ । उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो ।’
प्रवक्ता डा.महतले भने, ‘उहाँहरूको उठबसलाई राम्रोसँग हेर्ने हो भने उहाँहरू नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । कतिपय कुरा ठीक छैनन् । नयाँ परिस्थिति बन्नेबित्तिकै अब एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नहुँदै आकाश नै झर्छ ? पार्टीको केन्द्रीय समिति छ, संरचना छ । कसरी भयो, किन भयो ? त्यसको मूल्यांकन पनि गर्छौं । तर त्यसको लागि पनि नपर्खिने ?’
प्रवक्ता डा.महतले अन्तरिम सरकार संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा टेकेर सरकार बन्न नसकेको पनि बताए । उनले त्यसका बाबजुद पनि कांग्रेसले विरोध नगरेको बताएका छन् ।
‘संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौं । तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संसद भएरै पनि यसलाई अझै संविधान सम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ ।’
उनले त्यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुने पनि बताए । ‘आउने दिनमा पार्टीभित्र गम्भीर छलफल हुन्छ । अन्तरपार्टी, नागरिक समाज, नवयुवा सबैसँग छलफल हुन्छ । यसको आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं ।’ प्रवक्ता डा.महतले चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको जरूरी रहेको बताएका छन् ।
प्रवक्ता डा.महतले पार्टी सभापति देउवा र उनकी श्रीमती डा.आरजु राणाको स्वास्थ्य सुधारोन्मुख रहेको पनि बताएका छन् । डा.महतले भने, ‘उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ, ठीक भएपछि चाँडै सार्वजनिक हुनुहुन्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया