७४ मध्ये सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेको संख्या कति ? शार्प सूटरले पनि गोली हानेको आशंका

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा विभिन्न कारणसहित ७४ जनाको मृत्यु भएको संख्या रहे पनि सुरक्षाकर्मीको गोली लागेर कति जनाको मृत्यु भएको यकिन तथ्याङ्क आइसकेको छैन ।

प्रहरी उच्च स्रोतका अनुसार भदौ २३ गते र त्यसपछिको आन्दोलनका क्रममा सबै गरी ७४ जनाको मृत्यु भएको छ । कर्तव्यपालनका क्रममा नेपाल प्रहरीका ३ जनाले शहादत प्राप्त गरेका छन् । ३ जना प्रहरीलाई जेनजी आन्दोलनकारीको नामबाट कुटपिट गरेर हत्या भएको हो । यो संख्या नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट चलाइएको गोली लागेर मृत्यु भएकादेखि भाटभटेनीसहितका विभिन्न व्यापारिक तथा व्यक्तिको घरमा चोरी, डकैती गर्ने क्रममा शवहरू फेला परेकाहरू छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा भेटिएको महिलाको शवसँगै हातमा पैसाको बण्डल फेला परेको थियो ।

भाटभटेनी सुपरमार्केटको भवनमा तोडफोड, चोरी, लुटपाट र आगजनी गर्ने क्रममा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै चोरी गर्न जाने समूहका रहेको प्रहरी उच्च स्रोतको भनाइ छ । भाटभटेनी सुपरमार्केटमा कुनै पनि कर्मचारीहरूको मृत्यु भएको छैन । भाटभटेनीमा लुटपाट र चोरी गर्ने क्रममा भाग्दा कतिपय व्यक्तिको माथिबाट खसेर मृत्यु भएको छ ।

काठमाडौंमा ४७, ललितपुरमा २, भक्तपुरमा १, सुनसरीमा ६, झापामा ३, कास्कीमा ३, मोरङमा १, चितवनमा १, बाँकेमा ५ (बालबन्दी), धादिङमा ३ (कैदी बन्दी) र रामेछापमा २ (कैदी बन्दी)को मृत्यु भएको छ । बाँके, धादिङ र रामेछापबाट जेल फोडेर भाग्न खोज्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर १० जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आन्दोलनका क्रममा शव भेटिएका ७४ जनामध्ये भाटभटेनी लुटपाट गर्न गएका बेला मृत्यु भएका १९ र जेल फोडेर फरार हुने क्रममा गोली लागेर मृत्यु भएका १० जना तथा आन्दोलनकारीबाट हत्या भएका ३ प्रहरीको संख्या घटाउँदा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेहरूको प्रारम्भीक संख्या ४२ देखिएको छ । यो संख्यामा आन्दोलनकारीको भिडभित्रैबाट पनि शार्प सूटरले चलाएको गोली लागेर मृत्यु भएकाहरू पनि रहेको दाबी प्रहरी उच्च स्रोतको छ । शार्प सूटरले गोली हानेको हो वा होइन त्यसको पुष्टि छानविन भएपछि पत्ता लाग्नेछ ।

जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको सुरक्षा निकाय लगायत स्वयम् आन्दोलनकारीले पनि स्वीकार गरिसकेका छन् । शार्प सूटरहरूले सबैभन्दा पहिला जेनजी आन्दोलनकारीमाथि गोली हानेर हत्या गरेको र शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित, हिंसात्मक बनाएको दाबीहरू गरिएका छन् । शार्प सूटरले गोली हानेको रहेछ भने शवमा भेटिने गोली र पोस्टमार्टम रिपोर्टहरूले देखाउनेछ ।

जेनजी आन्दोलनका क्रममा पहिलो दिन भदौ २३ गते मृत्यु भएका मध्ये केही आन्दोलनकारीको टाउको र शरीरमा पछाडिबाट गोली लागेको प्रहरी स्रोतको भनाइ छ । यदि यो भनाइ र आशंका छानविनका क्रममा पुष्टि भयो भने गम्भीर विषय हुनेछ । आन्दोलनकारीभन्दा अगाडि प्रहरी रहेको थियो र हुन्छ । प्रहरीले गोली चलाउँदा अगाडिको भागमा गोली लाग्छ । अगाडिबाट प्रहरीले गोली चलाउँदा पछाडिको भागमा लाग्दैन ।

प्रहरीले सकेसम्म आन्दोलनकारीतर्फ कम क्षति होस् भनेर रणनीति बनाएको हुन्छ । आफ्नो ज्यान बचाउनका लागि पनि बाध्य भएर बल प्रयोग गर्दा आन्दोलनकारीतर्फ हताहती हुने गरेको प्रहरी उच्च स्रोतको भनाइ छ । प्रहरीले संयमता अपनाएकै कारण धेरै मानवीय क्षति हुन नपाएको हो । संयमता नअपनाएको भए योभन्दा धेरैको आन्दोलनकारीको मृत्यु हुन सक्ने फिल्डमा खटिएका प्रहरी अधिकृतहरूको भनाइ छ ।

Published : Saturday, 2025 September 20, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया