युवा र सुरक्षाकर्मीले जीवन गुमाउनु परेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले जेनजी पुस्ताको आन्दोलनका क्रममा कयौं युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले जीवन गुमाउनु परेको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललिपतुरमा बसेको कार्यसम्पादन समितिको बैठकले भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘गत भाद्र २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा कयौं युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाउनु पर्यो । नेपाल आमाका महान सपुतहरूप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’
‘प्रदर्शनका क्रममा भएका घाइतेहरूको उपचारको सम्पूर्ण प्रबन्धमा थप गम्भीरता राख्न माग गर्दै सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ कांग्रेसले भनेको छ, ‘उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाहीको माग बैठकले पुनः दोहोर्याएको छ ।’
कांग्रेसले भनेको छ, ‘भाद्र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक समूहहरूद्वारा राष्ट्रपति भवन, सिंहदरवार लगायत राज्यका मुख्य अंग एवं लोकतन्त्रका आधार स्तम्भहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै तहका कार्यालय, नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेताहरू– नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको विराटनगर स्थित ‘कोइराला निवास’, सर्वोच्च नेता गणेशमान सिंहको काठमाडौं, चाक्सीबारीस्थित ‘गणेशमान निवास’ र ललितपुरको बांडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ‘आश्रम’, व्यावसायिक प्रतिष्ठानहरू, नेपालको ऐतिहासिक स्थान, नेपाली कांग्रेसका केन्द्रीयदेखि स्थानीय वडा तहसम्मका कार्यालय एवं अन्य लोकतन्त्रवादी राजनैतिक दलका केन्द्रीय तथा मातहतका सबै तहका कार्यालय भवन, राजनैतिक दलका नेताहरूको निजी घर–डेरा, सर्वसाधारण जनताका निजी सम्पतिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरू तोडफोड, आगजनी र लुटपाटबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्वौ सम्पतिको क्षति गरिएको घटनाप्रति कार्यसम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्दछ ।’
‘संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै बदलिएको परिस्थितिमा पार्टीलाई थप सबल, सुदृढ र गतिशील बनाउँदै लैजानु पर्ने ऐतिहासिक दायित्वलाई हृदयङ्गम गरि सबैलाई संयम र वृहत्त एकता राख्न स्वदेश तथा विदेशमा रहेका हाम्रा सदस्य, समर्थक, शुभचिन्तक र समस्त नेपाली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक अपील गर्दछ,’ कांग्रेसले भनेको छ ।
बैठकमा उपसभापति धनराज गुरूङ्ग, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा.शेखर कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, सुजाता कोइराला, एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना र आमन्त्रित केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा राखेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया