कांग्रेसले विभिन्न पक्षसँग परामर्श गर्ने, असंवैधानिक भनेपछि म्यादी सुशीला सरकारलाई ठूलो धक्का

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन संविधानको परिकल्पना र अदालतको व्याख्या विपरित रहेको निर्णय गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको कार्य सम्पादन समितिको बैठकले संसद विघटन असंवैधानिक रहेको निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको ‘म्यादी’ अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेर मध्यावधि निर्वाचनको निर्णय गरेका बेला कांग्रेसले संसद विघटनको निर्णय संविधान र सर्वोच्च अदालतको व्याख्या विपरित भनेपछि तरंग ल्याइदिएको छ ।

‘संसद विघटनको यो उपक्रम संविधानको परिकल्पना र सम्मानित अदालतको व्याख्या विपरित छ । संसद विघटन असंवैधानिक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कदमले लोकतान्त्रिक उपलब्धी धरापमा पारेको छ ।’

‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास यही संविधान भित्र खोज्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ विश्वास छ,’ कांग्रेसले भनेको छ ।

कांग्रेसले भनेको छ, ‘संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ ।’

‘वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षार्थ नेपाली कांग्रेसले विभिन्न राजनीतिक दल तथा नागरिक समाज लगायत सबै सरोकारवालाहरूसँग समेत गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘भ्रष्टाचारको नियन्त्रण, सुशासनको प्रत्याभूति एवं सामाजिक सञ्जाल सहज गर्ने जस्ता जेनजी पुस्ताको प्रदर्शनले अघि सारेका जायज मागहरूलाई आत्मासात् गर्दै बैठकले तिनलाई विधिवत रूपले संबोधन गर्न÷गराउन नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहेको ठहर गर्दछ ।’

Published : Friday, 2025 September 19, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया