देउवा निवासमा डकैती शैलीमा प्रवेश, अपराधिक क्रियाकलापको भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालयले जेनजी आन्दोलनलाई धमिलो बनाई आफ्नो कुत्सिन मनसाय पूरा गर्न विभिन्न समूहले अकल्पनीय ढंगले आतंक सिर्जना गरेको जनाएको छ ।

बिहीबार सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रेस विज्ञप्ति जारी गरेर भदौ २४ गते डकैती शैलीमा निवासमा प्रवेश गरी सभापति देउवा र धर्मपत्नी एवम् केन्द्रीय सदस्य डा.आरजु राणामाथि सांघातिक आक्रमण गरेको जनाएका छन् । अपराधिक कार्यको सभापति देउवाले निन्दा गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतंक सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भर्त्सना गर्दछौं ।’

‘भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै निवासमा बसेका बेला सभापति देउवा र उनकी धर्मपत्नी एमव् कांग्रेस केन्द्रीय सदस्य डा.राणामाथि हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । देउवा दम्पत्तिमाथि भएको सांघातिक आक्रमणको चौतर्फी विरोध भइरहेको छ ।

Published : Thursday, 2025 September 18, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया