पोखरा विमानस्थल १८ अर्ब भ्रष्टाचारका आरोपी प्रदीपको समूहलाई कारबाही माग गरेर प्रधानमन्त्री कार्की समक्ष उजुरी, क्यानडा उड्दै
काठमाडौं । अन्तरिम मन्त्रिपरिषदकी प्रधानमन्त्री सुशीला कार्कीसमक्ष १८ अर्बभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गरेर उजुरी परेको छ ।
सोमबार भदौ ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दर्ता नं. १ रहेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत पदाधिकारीहरूलाई तत्काल निलम्बन, छानबिन र कारबाहीको माग सम्बन्धमा’ विषयको उजुरी दर्ता भएको हो । उजुरी प्राधिकरणका जेन–जेडको नामबाट हालिएको छ ।
यसअघि, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार लगायतलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।
निवेदनमा भनिएको छ, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १८ अर्बभन्दा बढीको भ्रष्टाचार गरेको आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको कर्मचारीहरूलाई कारबाही गरियोस् । महानिर्देशक अधिकारी त्यही पात्र हो जसले ऋण लिएर ३५ अर्बका विमानस्थल निर्माण गरे । तर, त्यहाँबाट अन्तर्राष्ट्रिय उडान हुँदैन ।’
‘जसको बारेमा तत्कालीन सांसद राजेन्द्र लिङ्देन नेतृत्वको छानविन समितिले भ्रष्टाचार करार गर्दै तत्कालीन सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि निर्देशन दिएको थियो,’ निवेदनमा भनिएको छ, ‘तर यति समय वितिसक्दा पनि केही कारबाही हुन सकेको छैन । महानिर्देशक प्रदीप अधिकारीले जहाँ/जहाँ विमानस्थल तथा हेलिपोर्ट निर्माण गरेर कुनै ठाउँमा उडान हुन सकेको छैन, मात्र भ्रष्टाचार गर्नका लागि बनाएको हो ।’
महानिर्देशक अधिकारीसहितको जम्बो टोली २१ सेप्टेम्बर* क्यानडा उड्न लागेको छ । उजरीमा भनिएको छ, ‘आईकाओ एसेम्बली (४२औँ अधिवेशन), जुन २०२५ सेप्टेम्बर २२ देखि क्यानडामा आयोजना हुँदैछ, उक्त कार्यक्रममा निवर्तमान पर्यटनमन्त्री बद्री पाण्डे र उनकी श्रीमती, पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोल र श्रीमती, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र श्रीमती, उपमहानिर्देशक हंसराज पाण्डे र श्रीमती, उपमहानिर्देशक देवचन्द्रलाल कर्ण, उपनिर्देशक चामाला श्रेष्ठ, र श्रीमान लगायतले सहभागिता जनाउन लागेका छन् । यस टोलीको कार्यक्रम एक हप्ता अमेरिका भ्रमण, घुमघाम र मौजमस्ती पनि योजना गरिएको छ ।’ *संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको मन्त्री पद फुत्किएको छ । मन्त्री पद गएपछि पाण्डे र उनकी पत्नी सम्भवत क्यानडा जाने छैनन् ।
महानिर्देशक अधिकारीविरुद्ध परेको उजुरीमा भनिएको छ, ‘उनले हुण्डीमार्फत अवैध कारोबार, अमेरिका, हङकङ, जापान, कम्बोडिया लगायत देशहरूमा अबैध लगानी गरेको, टीआईएका व्यापारी र विदेशी पार्टनरसँग साँठगाँठ गरी प्राधिकरणको सम्पत्ति दुरुपयोग गरेको गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।’
उजरीमा प्रधानमन्त्री कार्कीसँग माग गर्दै भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तुरुन्तै निलम्बन गरी पक्राउ गर्नुपर्छ । आईकाओ एसेम्बली र त्यसपछिको अमेरिका भ्रमण कार्यक्रम तत्काल रद्द गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लिरहेको फाइलहरूलाई छिटो टुङ्ग्याइ मुद्दा दायर गर्नुपर्छ । प्रदीप अधिकारी (उनका परिवारको नाममा झण्डै ८ अर्बको सम्पत्ति) लगायत संलग्न कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरी अवैध सम्पत्ति जफत गर्नुपर्छ । यस प्रकरणमा संलग्न पदाधिकारीहरूलाई तत्काल राजनीतिक, कानूनी र जनकारबाही गर्नुपर्छ । भिसा, पासपोर्ट र विदेश भ्रमण सम्बन्धी कागजातहरूको छानविन गरी भ्रष्टाचार रोक्ने कदम चाल्नुपर्छ ।’
उजुरीको बोधार्थ जेनजी आन्दोलनका संयोजक सुधन गुरुङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललाई दिइएको छ ।
भ्रष्टाचार नियन्त्रण र आरोपीहरूलाई कारबाही गर्न बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदबाट महानिर्देशक अधिकारीसहितको समूहलाई निलम्बन गरेर कारबाही हुने अपेक्षासहित प्राधिकरणका कर्मचारीहरूले जेन–जेडको नामबाट उजुरी दिएका छन् ।
कारबाही सिफारिस हुँदा समेत उच्च राजनीतिक नेतृत्वको दवाव, पहुँच र प्रभावमा पारेर महानिर्देशक अधिकारीसहितको समूह पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणबाट उम्किदै आएको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया