रवि नख्खु जेल फोडेर फरार भएपछि रास्वपामा दीपक मनाङेको प्रशंसा, सुमनापछि धेरैले पार्टी छाड्ने
काठमाडौं । सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नख्खु जेल फोडेर फरार भएपछि रास्वपाभित्र गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ उर्फ दीपक मनाङेको प्रशंसा भएको छ ।
सहकारी ठगी र संगठित अपराधको मुद्दामा पुर्पक्षका लागि नख्खु जेलमा रहेका सभापति रवि लामिछाने कीर्ते कागज बनाएर जेल फोडेर फरार भएपछि रास्वपाको भर्चुअल बैठकमा दीपक मनाङेको प्रशंसा भएको स्रोतले जनाएको छ । भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनमा मौकाको फाइदा उठाउँदै रास्वपा सभापति लामिछाने नख्खु जेल तोडेर फरार भएका थिए । नख्खु कारागार प्रशासनले सूचना जारी गरेर फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्दै अन्यथा पक्राउ गरेर घिसारेर ल्याउन चेतावनी दिएपछि डरले तर्सिएका लामिछाने पत्नी निकिता पौडेल र सहयोगी समेत रहेका रास्वपाका केन्द्रीय सदस्य दीपक बोहरालाई साथमा लिएर कागारा पुगेका थिए ।
सभापति लामिछाने फरार भएपछि जेनजी पुस्ताले आफूहरूको आन्दोलन सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा थुनिएको व्यक्तिलाई छुटाउन नभएको भनेर आलोचना गरेका थिए । त्यसपछि रास्वपाका केन्द्रीय नेताहरूले नै भदौ २५ गते बुधबार बसेको भर्चुअल बैठकमा दीपक मनाङे कानून पालनाको विषयमा सभापति लामिछानेभन्दा हजारौँ गुणा असल रहेको धारणा राखेको स्रोतले जनायो ।
डिल्लीबजार कारागारमा रहेका पूर्वमन्त्री दीपक मनाङेले आफूले कानून मान्ने भन्ने जेलबाट भाग्न अस्वीकार गरेका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २५ गते कैदी बन्दीहरूले डिल्लीबजार कारागारभित्र तोडफोड र आगजनी गरेर फरार हुन बाहिरको मूल गेटसम्म आएका थिए । दीपक मनाङेले आफू कानूनको पालना गर्नेभन्दै कारागारभित्र बसेर इमान्दारिता देखाएका थिए । फरार हुन डिल्लबजार कारागारका कैदी बन्दीहरू जेल फोडेर मूल गेटमा आएपछि नेपाली सेनाले कुनै पनि कैदी बन्दीलाई भाग्न दिएको थिएन ।
जेनजी आन्दोलन शुरु हुनेवित्तिकै रास्वपाका सांसदहरू सुमना श्रेष्ठ, डा.तोसिमा कार्की र असिम शाहले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । ३ सांसदले राजीनामाको घोषणा गरेको थाहा पाएपछि नख्खु जेल फोडेर भाग्ने बेला रास्वपा सभापति लामिछानेले रास्वपाका सांसदहरूलाई राजीनामा गर्न आदेश दिएका थिए ।
सभापति लामिछाने जेल फोडेर फरार हुने बेला विजयी भावमा गाडीको हुट खोलेर आन्दोलनकारीलाई अभिवादन गर्दै भागेका थिए । लामिछाने त्यसरी फर्किएको दृष्यसँगै जेनजी पुस्ताले संविधान र कानूनका विषयमा सामाजिक सञ्जालमार्फत् निकै आलोचना गरेका थिए ।
भर्चुअल बैठकमा सुमना श्रेष्ठ र हरि ढकालबीच भनाभन भएको थियो । सुमना र हरिबीच लामो समयदेखि पार्टीभित्र आन्तरिक विवाद हुँदै आएको छ । पार्टीभित्र आफूलाई सभापति लामिछाने र उनको समूहका नेताहरूले निकै खेदोखनेपछि अहिले सुमनाले रास्वपा छाडेकी छिन् ।
रास्वामा अरु धेरै केन्द्रीय नेताहरूले पनि पार्टी छाड्ने तयारी गरेको बैठकमा चर्चा चलेको थियो । पार्टी कुन कुन नेताहरूले छाड्न लागेका हुन् नाम खुलाइएको छैन । सभापति लामिछाने र उनको कोर टिमका कारण धेरै नेताहरू रास्वपामा पीडित बनेको नेताहरूले बताउने गरेका छन् । सभापति लामिछानेले नख्खु जेल फोडेर फरार भएपछि रास्वपा बिघटनको संघारमा पुगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया