कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, विचार जलाउन सकिन्न, वीपी विचार मर्न सक्तैन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हजारौं लोकतान्त्रिक योद्धाहरूको भावना जोडिएको कोइराला निवास जलाइए पनि विचार र लोकतान्त्रिक आन्दोलन जल्न नसक्ने बताएका छन् ।

शनिबार बिहान प्रेस विज्ञप्ति जारी गरेर नेता डा.कोइरालाले कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर, विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन नसकिने बताए । उनले कोइराला निवासको खरानी विजबाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं भनेर आह्वान गरेका छन् ।

नेता डा.कोइरालाले भने, ‘वीपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्षभन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको ‘कोइराला निवास’ जहाँ म बस्थें । जहाँ हजारौं लोकतान्त्रिक योद्धाहरूको भावना जोडिएको थियो ।’

‘लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास । नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो । भाद्र २४ गते जलेको छ, जलाइएको छ,’ डा.कोइरालाले भने ।

उनले भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर, विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । वीपी विचार मर्न सक्तैन ।’

‘पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन,’ डा.कोइरालाले भने, ‘कोइराला निवासको खरानी विजबाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।’

जेनजीको कथित आन्दोलनका क्रममा विराटनगरमा रहेको कोइराला निवासमा समेत आगो लगाएर क्षति गरेका थिए । इतिहाँस बोकेको कोइराला निवासलाई जलाएर क्षति गरेपछि नेता डा.कोइरालाले कोइराला निवासको खरानीको राखबाट पुनः वीपी बिचारको उदय हुने बताएका छन् ।

Published : Saturday, 2025 September 13, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया