वीपीले जस्तै देउवा दम्पत्तिले मृत्युलाई रोज्यो, घर छाडेर भागेनन्, आरजु आमा पनि हुन् तिघ्रेहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कायर होइनन् । बरु मर्न तयार भए, घर छाडेर भागेनन् । नभागेकै कारण सभापति देउवाले कथित आन्दोलनकारीहरूबाट हिंस्रक आक्रमण सहनु परेको छ ।
खुकुरी दल काण्डका नायक भरतशम्शेर जबराले वि.संं. २००७ सालमा तत्कालीन गृहमन्त्री वी.पी. कोइरालाको हत्या गर्न खोजेका थिए । खुकुरी दल आफूलाई आक्रमण गर्न आउँदैछ भन्ने जानकारी वीपीले पाएका थिए । गणेशमान सिंह लगायतका नेताहरूले वीपीलाई गृह मन्त्रालय छाडेर भाग्न सल्लाह दिएका थिए । मर्न तयार भए वीपी कोइराला गृह मन्त्रालय छाडेर भागेनन् । वीपीलाई हत्या गर्न खोजेको आरोपमा भरतशम्शेर जबराले जेल सजायँ भोगेका थिए । भरतशम्शेर २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए ।
सभापति देउवासँगै घरमा रहेकी पत्नी डा.आरजु राणाले भुसतिघ्रे लठैतहरूबाट हिंसाको सिकार हुनु परेको छ । काठमाडौंमा नै सभापति देउवा र डा.राणा अहिले उपचारमा छन् । उनीहरूको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको परिवाजनले बताएका छन् ।
सामाजिक सञ्जालमा सभापति देउवा र डा.राणालाई भुसतिघ्रेहरूले लात्ती, मुड्की, लाठी प्रहार गरेका छन् । देउवा दम्पत्ति रगतले लतपतिएका छन् । उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा केही युवाहरूले आएर बचाउने प्रयास गरेका छन् । ती मनकारी युवाहरूको मन कमलो रहेछ । सबै भिजिलान्ते हुँदैनन् । मन भएका मनकारी पनि हुन्छन् । मानवता भएका युवाहरू पनि हुन्छन् ।
देउवा दम्पत्तिलाई कुटपिट गर्ने लठ्तै मुङ्ग्रे हुन् । उनीहरू भिजिलान्ते हुन् । जेनजीहरू शान्तिप्रिय छन् । जेनजीहरूसँग देश बचाउने आक्रोश छ, हिंसा गर्न होइन । जेनजीको आन्दोलनमा घुसपैठ गराउनेहरूबाट पैसा खाएर देउवा दम्पत्तिलाई हत्याको प्रयास गरेका छन् । देउवा दम्पत्तिलाई कुटपिट गर्ने र हत्याको प्रयास गर्नेहरू भिडियोमा प्रत्यक्ष देखिएका छन् । उनीहरूको पहिचान भएको छ ।
कांग्रेस नेतृ डा.राणा एउटी आमा पनि हुन् । ती लठैतहरूले एउटी आमामाथि अमानवीय र हिंस्रक आक्रमण गरेर हत्याको प्रयास गरेका छन् । जिम गरेर शरीर बनाएका जस्ता देखिने ती तिघ्रे, लठैतहरूलाई आफ्ना बुबाआमाले संस्कार नसिकाएको जस्तो व्यवहार देखाएका छन् । डा.राणाप्रति आक्रोश थियो भने पनि दण्डसजाय दिने अनेक उपाय छन् । एउटी निरिह महिलामाथि त्यसरी हिंस्रक आक्रमण गर्दा समेत त्यो भिड निर्दयी बनेर तमासा हेरेको छ । सभापति देउवा र डा.राणाको उमेरलाई ती ‘युवा हुँ भन्नेहरू’ले एकपटक ध्यान दिएन । सभापति देउवाले यो मुलुकमा लोकतन्त्र ल्याउन गरेको योगदानलाई ती निर्दयी पशुहरूले स्मरण गरेनन् ।
सोमबारको आन्दोलनपछि भदौ २४ गते मंगलबारका दिन जेनजीको आन्दोलन उत्तेजित, हिंसात्मक र आक्रामक हुन्छ भनेर सुरक्षा निकायले तयारी गरिरहेको थियो । मंगलबार बिहान परिवारका सदस्य, पार्टीका नेताहरू, मन्त्रीहरू, शुभेच्छुक, सुरक्षा निकाय लगायतले सभापति देउवा र डा.राणालाई घर छाडेर सुरक्षित स्थानमा जान पटक पटक भनेका थिए ।
तर, सभापति देउवा र डा.राणाले घर छाडेर जान मानेनन् । उनीहरूले सुरक्षा निकायलाई तपाईहरू हुनुहुन्छ हामीलाई केही हुँदैन, फेरि हामीले के अपराध गरेका छौँ र ? भनेर घरमा बसे । देउवा निवास बुढानिलकण्ठमा बिहानैदेखि भिड जम्मा हुन थालिसकेको थियो । देउवा र डा.राणाले चाहेको भए समयमा निवास छाडेर सुरक्षित ठाउँमा जान सक्थे । गएनन् । सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणाले मृत्युलाई रोजे, भागेनन् ।
प्रधानमन्त्री केपी ओली आफ्नो सरकारी निवास बालुवाटारमा हेलिकप्टर बोलाएर शिवपुरीको जंगलमा रहेको नेपाली सेनाको ब्यारेकमा गएर बसे । मन्त्रीहरू भैँसेपाटीस्थित सरकारी क्वाटरमा हेलिकप्टर बोलाएर सुरक्षित स्थानमा गए । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत भए । एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि भूमिगत भइन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका नेताहरू सबै भूमिगत भए । सबैभन्दा पहिला कम्युनिस्ट नेताहरू निवास छाडेर भूमिगत भए । कांग्रेसका मै हुँ भन्ने पदाधिकारीहरू पनि निवास छाडेर भागेर ज्यान बचाए ।
भिजिलान्ते, लठैतहरूबाट सबैभन्दा धेरै आक्रमण डा.राणामाथि भएको छ । देउवा दम्पत्तिको ज्यान लिने गरेर भएको हिंसाविरुद्ध कांग्रेसकै नेतारूले खुलेर बोलेका छैनन् । कांग्रेसका नेता र पदाधिकारीहरूबाट विज्ञप्ति जारी भए । ती विज्ञप्तिमा सभापति देउवाको नाम छ । डा.राणाको नाम छैन । कांग्रेस केन्द्रीय कार्यालयको लेटरहेडमा प्रेस विज्ञप्ति जारी हुँदा समेत डा.राणाको नाम राखिएको छैन । डा.राणा देउवाकी पत्नी मात्रै होइनन्, परराष्ट्रमन्त्री र कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् । विज्ञप्तिमा नाम राख्न त्यतिधेरै पूर्वाग्रही पनि हुनु हुँदैन ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको सभापति देउवाले विरोध गरिरहेका थिए । पत्नी बोकेको गाडीलाई प्रहरीले रोकेर जाँच गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेनले सिंहदरबार जलाइदिन्छु भनेका थिए । सिंहदरबार जलाइदिन्छु भनेको अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले बालेनलाई पक्राउ गर्न प्रस्ताव राख्दा सभापति देउवाले नै बोलेर के हुन्छ ? भनेर बालेनलाई पक्राउ गर्न दिएका थिएनन् । जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोल्दै आएको कांग्रेसका सभापति देउवामाथि भएको आक्रमण सैह्य छैन । डा.राणालाई भुइँमा लछारपछार गरेर आक्रमण गर्दा ती जल्लाहरूको मनमा शान्ति आएको हुनुपर्छ । यो मुलुकबाट लोकतन्त्रको हरण भयो भने नेपाली नागरिकले बोल्न पाउने छैनन् । स्वातन्त्रता पाउने छैनन् । कम्युनिस्टले जित्यो भने हाँस्न पनि पाइने छैन भन्ने पनि देउवा नै हुन् । दुईतिहाईको एमाले र माओवादीको सरकार भएका बेला देउवाले भनेको भनाइ लागू भएको नेपाली समाजले भुलिसकेको छ ।
घुसपैठियाहरूले प्रजातन्त्र, नेपाली कांग्रेस र देउवा परिवारलाई बद्नाम गराउन विभिन्न लाञ्छनाहरू लगाइएका छन् । घरभित्र पैसा भेटियो, सुन लगायतका बहुमूल्य सामग्री भेटियो भनिएको छ । हिंसा र आफ्ना कर्तुत लुकाउन देउवा परिवारमाथि लाञ्छनाहरू लगाइएका छन् । अहिले देउवा परिवार चौतर्फी आक्रमणमा परेको छ । प्रतिवाद गर्ने अवस्थामा छैन । जसले जे कथा बनाएर भने पनि हुन्छ । आरोप लगाए पनि भएको छ । समय आउनेछ । युवा पुस्ताले सत्य कुरा ढिला भए पनि बुझ्नेछ । इतिहासले सबै कुरा थाहा पाउनेछ । जसले आफ्नो जीवनको प्रवाह नगरेर नभागेर घरमै बस्छ, उसालई विभिन्न लाञ्छनाहरू लगाइएका छन् । देउवाको घरमा पैसा र सुन भेटियो भन्नेहरूले कर्मचारीहरू, माओवादी, एमाले, राप्रपा, रास्वपा लगायतका अन्य नेताहरूको घरमा किन खानतलासी गरेन ? रवि लामिछानेको घरमा किन खानतलासी गरेन ? अहिले मनपरी बोलिरहेका प्रहरीका पूर्वउच्च अधिकारीहरूको घरमा किन खानतलासी गरेनन् ? यी प्रश्नको पनि जवाफ जनताले खोजेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया