नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू नष्ट भए : प्रधान न्यायाधीश राउत
काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको जनाएका छन् ।
बिहीबार प्रधान न्यायाधीश राउतले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू करीब करीब नष्ट हुन गएका छन् ।’
उनले भने, ‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
‘सोही बमोजिम सर्वोच्च अदालतमा मिति २०८२/०५/२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘मिति २०८२/०५/२४ गते सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरूमा भएको आगजनी, दुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरूमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौं,’ प्रधान न्यायाधीश राउतले भने ।
‘नागरिकहरूको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
राउतले भने, ‘उल्लिखित घटनाको कारण आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक श्रोतसाधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरू, कर्मचारीहरू, कानून व्यवसायीहरू, कानूनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू एवं सर्वसाधारण नागरिकहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दी आगामी दिनमा समेत यहाँहरूको निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया