टोल सुरक्षा समिति गठन गरौं, आन्दोलनमा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समीक्षा र पुनरावलोकन हुन्छ : तरुण, युवा
काठमाडौं । नेपाल तरुण दल, राष्ट्रिय युवा संघ, नेपाल, वाईसीएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघले टोलटोलमा सुरक्षा समिति गठन गरी विध्वांसकारी गतिविधिका घटना रोक्न अपील गरेका छन् ।
बिहीबार तरुण, युवा संघ÷संस्थाका अध्यक्षहरूले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हामी यी सम्पूर्ण घटनाको पूर्णरुपले निन्दा र भर्त्सना गर्दछौं ।’
‘यस स्तरमा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुँदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसेका हुन् ?,’ विज्ञप्तिमा प्रश्न गर्दै भनिएको छ, ‘यस सम्बन्धमा छानबिनसहित यस आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समीक्षा र पुनरावलोकन गरिनुपर्ने माग गर्दछौं ।’
विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसमेत जारी विध्वांसकारी गतिविधिप्रति सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गर्दै टोलटोल सुरक्षा समितिको गठन गरी यस्ता घटना रोक्न जनसमुदाय र स्थानीय तहका समितिहरूलाई अपील गर्दछौं । यस्ता घटनाहरूले आन्दोलनको शुद्धता र उद्देश्यलाई क्षति पुर्याउँछन् र राष्ट्रलाई थप पीडा दिइरहेका छन् ।’
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्वले विध्वंस, आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटना गराने काम जारी छ ।’ मुलुकको यस विषम परिस्थितिमा सम्पूर्ण युवाहरूलाई संयमित र सजक तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशील रहन तरुण, युवाहरूले अपील गरेका छन् ।
‘जेनजी युवाहरू समेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकालिनुपर्छ भनेर माग गर्दछौं ।’
संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेबे, वाईसीएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी रहेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया